सोम, जेष्ठ ३, २०७८
Mon, May 17, 2021

काबुल बम हमलापछि तालिबानसँगको सम्झौता भंग

भदौ २२ गते ।

तालिवानसँगको शान्ति सम्झौता अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले भंग गरेको घोषणा गरेका छन् । श्रृङ्खलाबद्ध ट्वीट गर्दै ट्रम्पले आईतबार हुने क्याम्प डेविडमा तालिबानी नेता र अफगानी राष्ट्रपतिसँग गोप्य बैठक रद्द गर्ने जानकारी दिएका हुन् ।

काबुलमा भएको कार बम बिस्फोटको जिम्मेवारी तालिवानले लिएको थियो । त्यसमा एक अमेरिकी सैनिकसहित १२ जनाको मृत्यु भएको थियो ।

अफगानिस्तानका लागि विशेष अमेरिकी राजदूत जल्मे खलिलजादले गत सोमबार तालिबानसँग ‘सौद्धान्तिक रुपमा’ एक शान्ति सम्झौता भएको घोषणा गरेका थिए । प्रस्तावित सम्झौता अनुसार अमेरिका अबको २० हप्ताभित्र अफगानिस्तानबाट आफ्नो पाँच हजार चार सय सैनिक फिर्ता लैजादैँ थियो ।

अफगान सरकार अमेरिकाको कठपुलती भएको भन्दै तालिबानले कुराकानी गर्न अस्विकार गर्दै आएको छ । तालिबान र अमेरिकाबीच कतारमा अहिलेसम्म नौ वटा शान्ति वार्ता भइसकेको छ ।

सम्झौतामा अमेरिकी सैनिकको विदाईको बदलामा तालिबानले अमेरिका र उसको सहयोगीमाथि हमलाका लागि अफगानिस्तानको प्रयोग नगर्ने प्रावधान थियो । तालिबानले सन् १९९६ देखि २००१ सम्म अफगानिस्तानमा शासन गरेको थियो ।

अफगानिस्तानमा सन् २००१ मा अमेरिकाको अगुवाईमा सुरु भएको सैन्य अभियानपछि अन्तरराष्ट्रिय गठबन्धन सेनाका लगभग तीन हजार पाँच सय सदस्यको ज्यान गइसकेको छ जसमा दुई हजार तीन सय अमेरिकी छन् ।

संयुक्त राष्ट्रले सन् २०१९ मा गरेको एक रिपोर्टमा ३२ हजार बढी सर्वसाधारणको मृत्यु भएको बताएको छ । त्यस्तै ५८ हजार सुरक्षाकर्मी र ४२ हजार विद्रोही मारिएको ब्राउन युनिभर्सिटीका वाटसन इन्स्टिच्युटले जनाएको छ ।

प्रतिक्रिया

%d bloggers like this: