शुक्र, बैशाख ३१, २०७८
Fri, May 14, 2021

रमणीय ‘पाडुले पोखरी’

(फोटो फिचरसहित)

भोटराज राई/आमचौक (भोजपुर), भदौ २६

यतिबेला कतै कुकुर मार्ने अभियान, त कतै कुकुर बचाऊ अभियान चलिरहेको छ । भोजपुरको आँमचौकमा भने किम्बन्दन्तीको आधारमा कुकुरको सालिकसहित पाडुले पोखरी निर्माण गरी पर्यटक आकर्षित गरिएको छ ।

पालिकाको केन्द्र वडा नं. ४ बालंखा   अघि पाडुले पोखरी निर्माण गरिएको हो । सदावहार पानी रहने र बीचमा खम्बा उठाई कुकुरको सालिक राखिएको पोखरी यतिबेला आकर्षणको केन्द्र बनेको छ । पालिका कार्यालय अगाडि नै निर्माण गरिएको पोखरी र कुकुरको सालिकले पर्यटक आकर्षित हुने गरेको छ । त्यहाँ जडान गरिएका रंगीन बत्ति र पानीको फोहोराले दिनभन्दा राती अझबढि आकर्षण दिने गरेको छ ।

चोमोलुङ्मा सामुदायिक रेडियोका स्टेशनमेनेजर राजन समिप राईका अनुसार कुकुरको मुर्तीमा विभिन्न विशेषता रहेका छन् । खडा भएको कुकुरको कलात्मक मुर्तीलाई गहिरिएर हेर्दा दुईटा अगाडीको खुट्टा मध्ये एउटामा नाग र अर्कोमा हाँसको थुतुनो देखिन्छ । त्यस्तै एउटा कानमा भ्यागुता र एउटामा माछा देख्न सकिन्छ । उक्त मुर्ती प्राज्ञ एवम् मुर्ती कलाकार नारद हातन्छाली राईले बनाएका हुन् । त्यहाँको घेराबेरा पनि उत्तिकै कलात्मक र अर्थपूर्ण छ ।

रातीको रमणीय दृष्य

किम्बन्दन्ती अनुसार उहिले एकजना सिकारी सिकार खेल्न आउथे र हाल पोखरी निर्माण गरिएको ठाउँमा पानी पिउथे । उसको साथमा सधै एउटा पाडुले कुकुर आउथ्यो, पछि सिकारी एकाएक लोप भएपनि कुकुर चाँही पछिसम्म नै आउथ्यो र त्यहाँको गुफामा बस्थ्यो । कुकुर बस्ने गुफामा पानी खन्याउदा अहिले पनि करिब दुई किलोमिटर तल गाउँमा निस्कने स्थानीयको भनाई छ । यहि किम्बन्दन्तीको आधारमा उक्त ठाउँमा पर्यटकीय विकासको उद्देश्यले पाडुले पोखरी निर्माण गरिएको पालिका अध्यक्ष अशोक राईले बताउनुभयो । पाडुले पोखरी भन्दा केही माथि हसुले (कुकुर) पोखरी भन्ने स्थान पनि रहेको स्थानीयले बताए ।

अध्यक्ष राईका अनुसार पालिकामा यस अलावा विभिन्न रमणीय, धार्मीक एवम् एतिहासिक पर्यटकीय स्थलहरुका कारण पालिकामा प्रशस्त पर्यटकीय सम्भावना रहेको छ । २ नं. वडा स्थित थामडाँडा मकालु, कन्चनजंघा लगायतका हिमश्रृङ्खलादेखि तराईको भूभाग दृष्यबलोकन गर्न सकिने उच्च रमणीय स्थल हो । १ नं. वडाको थलथले अर्को रमणीय स्थल हो । जहाँ, पिकनिक स्पोर्टको रुपमा विकास भईरहेको छ । १० नं. वडाको सिद्धथान, जहाँ माहादेवस्थल रहेको छ । धार्मीक पर्यटन्को महत्व बोकेको ठाउँ रहेको छ । ६ नं. वडाको बयाङडाँडा स्थित साचेत्लुङ ऐतिहासिक महत्वको छ । जंगलका बीच रहेको उक्त ठाउँमा पहिले किराँती पूर्खाले सिकार खेल्न जाने, सिकार गरेपछि त्यहाँ भेजा लगाई मासु लैजाने पुरानो भनाई छ । त्यहाँ पौराणीक पोखरीहरु छन् । आकर्षणको रुपमा एउटा ठूलो दलछिन् ढुंगा रहेको छ । समृद्धिकोे एउटा जग पर्यटन पनि रहेकाले त्यसतर्फ पनि पालिकाले ध्यान दिएको अध्यक्ष राईले बताउनुभयो ।

प्रतिक्रिया

%d bloggers like this: