आइत, जेष्ठ २, २०७८
Sun, May 16, 2021

तीन वर्षमा १ सय ६० महिला बेपत्ता

भदौ २६ गते ।

रोल्पाबाट तीन वर्षमा एक सय ६० जना महिला हराएको  एक तथ्याङकले देखाएको छ । हराएकामध्ये प्रहरीको सहयोगमा ९५ जना फेला परेपनि ६५ जना अझै बेपत्ता रहेको जिल्ला प्रहरी कार्यालय रोल्पाको तथ्याङकले देखाएको छ ।

आर्थिक वर्ष २०७३÷७४ मा ५६ जना महिला हराएको थियो । यसमध्ये ४१ जना मात्रै फेला परे भने ८ जना अझै भेटिएका छैन । त्यस्तै आव २०७४÷७५ मा ५५ हराएका मध्ये ५० जना फेला परे भने पाँच जना अझै फेला परेका छैन । गत आव २०७५÷७६ मा ५६ जना महिला हराए थियो । अहिलेसम्म ४ जना मात्रै फेला परे भने ५२ जना अझै फेला परेको छैन ।

प्रहरीमा उजूरी परेका मध्ये केही महिला तथा बालबालिका घर फर्किएका छन् । अभिभावकले दिएको हुलियाका आधारमा खोजी गरेर भेटिएका र आफैं घर फर्केका गरी तीन वर्षमा ९५ जना मात्रै फेला परेको छ भने अझै ६५ जना फेला नपरेको तथ्याङकले देखाएको छ ।

अभिभावकले दिएको सूचनाका आधारमा देशभरका प्रहरी युनिटहरुलाई हुलियासहित खोजी गर्न जानकारी गराउने गरिएको छ । प्रहरीले काठमाडौँका ईंटा भट्टामा हराएका मध्ये ठूलो सङ्ख्याका महिलालाई  फेला पर्ने गरेको प्रहरीले जनाएको छ ।

जुन इँटा भट्टामा काम गर्ने नाइके गाउँकै भएकाले ललाइफकाई गरि लैजाने भएकाले अधिकाँश महिला परिवारलाई जानकारी नदिई भाग्ने गरेको पाइएको छ । आफ्नो स्तर भन्दा माथिको सपना देख्ने भएकाले दलालको जालमा फसेर परिवारका सदस्यलाई जानकारी नै नदिई भाग्नेको सङ्ख्या ठूलो रहेको प्रहरीले जनाएको छ ।

परिवारलाई सुईको समेत नदिई घर, विद्यालय, पसल, घाँस, दाउरा तथा पँधेराबाटै हराउँदा परिवारलाई मानसिक तथा शारीरिक तनाव हुने गरेको बताइन्छ । हराएका सदस्यको खोजीमा लामो समय बित्ने गरेको अभिभावक वर्गको दुःखेसो छ । यसरी हराएका अधिकाँश महिला वैवाहिक सम्बन्ध स्थापित गर्न आफूखुशी हिँड्ने गरेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया