शुक्र, चैत्र २१, २०७६
Fri, April 3, 2020

रौतामाई गाउँपालिकामा पर्यटन विकासको प्रचुर संभावना

लेख

खम्बराज राई

रौतामाई गाउँपालिका उदयपुर जिल्लाको मध्ये उत्तरी भागमा अवस्थित रहेको छ । साविक पोखरी, रौता, आँपटार, भुट्टार, लाफागाउँ र नामेटार गा.वि.स. गरी ६ वटा गाविस मिलेर बनेको यो गाउँपालिका २०४.०८ वर्ग कि.मी. क्षेत्रफलमा फैलिएको छ । यो गाउँपालिकाको पहाडी भौगोलिक अवस्थिति, ऐतिहासिक चिनारी तथा नामाकरण, प्राकृतिक तथा साँस्कृतिक उत्कृष्टतामा छुट्टै विशेषता, मौलिकता र पहिचान रहेको छ । भौगोलिक अवस्थितिको आधारमा समुन्द्र सतहदेखि ३६० मिटरदेखि २३१० मिटरको उचाईमा रहेको छ । यो गाउँपालिका २६ड्ढ५३‘०”देखि २७ड्ढ०३‘५७”उत्तरी आक्षंश र ८६ड्ढ३५‘१३”देखि ८६ड्ढ४६‘०” पूर्वीदेशान्तरमा फैलिएको छ । यस गाउँपलिकाको पूर्वमा खोटाङ जिल्ला, पश्चिममा उदयपुरगढी गाउँपालिका र ताप्ली गाउँपालिका दक्षिणमा त्रियुगा नगरपालिका र उत्तरमा लिम्चुङबुङ गाउँपालिका र खोटाङ जिल्लासँग सिमाना जोडिएको छ ।

अनुपम प्राकृतिक सौन्दर्य, प्रचुर जैविक विविधता, बहुजातीय, बहुभाषिक, बहुधार्मिक र सामाजिक विविधता एवं ऐतिहासिक तथा सांस्कृतिक सम्पदाले भरिपूर्ण यस गाउँपालिका उदयपुर जिल्लाको पर्यटन मानचित्रमा प्रमुख पर्यटकीय गन्तव्य स्थल बन्न सक्ने बलियो सम्भावना देखिन्छ । रौतापोखरी तथा रौतामाई मन्दिर, सुकेपोखरी, माझखर्क, चित्रेथाम, ओडारे झरना, गुल्मराजा गुल्मरानी डहर पोखरी, काफल डाँडा, गुप्तेश्वर महादेव, सुनकोशी कोरिडोर यस गाउँपालिकाको आकर्षक पर्यटकीय ठाउँ तथा क्षेत्रहरु हुन् ।यस क्षेत्रमा भएका पर्यटकीय क्षेत्रलाई नेपाल तथा विश्वसामु प्रस्तुतगर्दै आन्तरिक तथा वाह्य पर्यटन बजारलाई आकर्षित गरी मुद्रा आर्जन, रोजगारी सिर्जना, आर्थिक क्रियाकलाप वृद्धि गर्दै यस गाउँपालिकाले आर्थिक, सामाजिक तथा सांस्कृतिक हिसाबले अत्यधिक लाभ लिन सक्ने देखिन्छ ।

रौतापोखरी र रौतामाई मन्दिर

यस गाउँपालिकाको वडा नं. ६ मा अवस्थित रौतामाई र रौता पोखरी समुन्द्रि सतहबाट करिब १७०० मिटरको उचाईमा अवस्थित एक धार्मिक र ऐतिहासिक महत्वबोकेको तीर्थस्थल हो । यस पोखरीको नामाड्ढन मगर भाषाको “रौताहा” शब्दबाट बनेको मानिन्छ ।“रौ”को अर्थ प्रेम र “ताहा”को अर्थ पुग्नु भन्ने कथन रहेको छ । किवंदन्ति अनुसार कुनै कालखण्डमा ओखलढुंगा तिरका भुजुङ गुरुङले भेडा चराउने क्रममा रुम्जाटारबाट यस पोखरी क्षेत्रमाआएको र यस पोखरीको महिमा पहिले नै सुनेकोले एकजना शेर्पा बूढालाई पोखरी देखाइ माग्दा भुजुङले जाबो भैंसी पौडी खेल्ने आहाल भनी घृणा गर्दा आफ्नो भेडा, कुकुरहरु आँखा अगाडी नै गायब भएको र एक जना ब्राह्मणका अनुसार रौतामाईलाई पाठी र परेवाले सेवा गर्छु भनी भाकल गरेपछि हराएका सबै भेडी गोठ, कुकुर र गोठाला प्राप्त भए अनुसार अहिले पनि रौतामाईको बलिपूजा गर्ने चलन रहेको छ । यस रौता पोखरीको उत्तर पश्चिमको डिलमा कागभलायोको आडमा रौतामाईको थान (मन्दिर) रहेको छ । रौतामाईलाई पत्र, पुष्प, फल, नैवेद्य र जलआदि पूजा सामग्री चढाई पूजागर्ने चलन रहेको छ ।

यो पोखरी पानको पात आकारको रहेको छ । यस पोखरीको किनारमा गोलाकारको रुपमा पोखरीको पराक्रम गर्नको लागि पदमार्गको व्यवस्था गरिएको छ भने पोखरीको बाहिरी भागमा पनि पोखरीको आसपासको क्षेत्र र अन्य बाहिरको दृष्यावलोकनको लागि गोलाकारको रुपमा बाहिरी पदमार्ग निर्माण गरिएको छ । यी पदमार्गहरुसँगै थकाइ मार्न एवम् भलाकुशरी गर्दै बस्नको लागि विश्रामस्थल (गजेवु) को निर्माण गरिएको छ । यस पोखरीको माथि डाँडाबाट विश्वको सर्वोच्चशिखर सगरमाथा, हिमश्रृंखला र दक्षिणतर्फ हरियालीवनजंगल, पहाड तथा फराकिला समथर फाँटहरु र गाईघाटको राम्रो दृश्यावलोकन गर्न सकिन्छ । यस क्षेत्रमा विभिन्नबोट विरुवा, जडिबुटी, फूल, जंगली जनावर, चरा चुरुङ्गीआदि जैविक विविधताले भरिएको प्राकृतिक दृष्टिकोणबाट पनि यो रौतापोखरी क्षेत्र अनुपम उपहार एवं गृष्मकालीनशितल खुला दरवार निधिको रुपमा लिन सकिन्छ । निकासबाट रौता पोखरी तिर निस्कने क्रममा रौता पोखरीको आधारभूमिको रुपमा खुला अनि फराकिलो समथर चौर रहेको छ । विभिन्न समयमा लाग्ने मेला यस चौरमा लाग्ने गर्दछ साथै विभिन्न खेलकुद, पिकनिक तथा अन्य कार्यक्रमहरु पनि यस चौर र यसको आसपासमा आयोजना गर्ने गरिन्छ ।यस ठाउँसम्म आवत जावतको गर्नको लागि २ वटा मोटर बाटो तथा  १ पदमार्ग रहेको छ ।

पहिलो – रानीबास, हुबास, डहर, अधेरी निकास र रौता पोखरी, दोस्रो – पुँवारे, डुम्मे्र थुम्का, चौकीभञ्ज्याङ रौता पोखरी र तेस्रो –उदयपुर सिमेन्ट कारखानाको चुनढुङ्गा खानी सिंदालीआहाले हुँलै रौता पोखरी आउने पद मार्ग रहेको छ । यो रौता पोखरी गाईघाटबाट ४२ कि.मि. दूरीमा पर्दछ भने सगरमाथा लोकमार्गबाट १३ कि.मि. पर्दछ । यस पोखरीको करिब २५०० मिटर पूर्वमा सुके पोखरी र करिब ५०० मिटर पश्चिममा भैरव पोखरी रहेको छ । सुकेपोखरी आदिम कालममा पोखरीको रुपमा रहेको कालान्तरमा पानी सुकेकोले यस पोखरीलाई सुकेपोखरी भन्ने गरिन्छ । यो पोखरी विशाल प्राकृतिक रंगशालाको रुपमा देख्न सकिन्छ । रौता पोखरी लगायत अन्य पर्यटकीय क्षेत्रको पर्यटन विकासको लागि गाउँपालिकोले गुरुयोजना निर्माण गरी यस रौता पोखरीको पर्यटकीय विकासलाई अगाडि बढाएको छ । साथै यो रौता पोखरीमा सबै धर्मालम्बीहरु दर्शनको लागि आउने भएकाले यस पोखरीको बाहिरी क्षेत्रमा गौतम बुद्धको मूर्ति, किराति प्रथम राजा यलम्बरको मूर्ति र शिव पार्वतीको मूर्ति राखिने यस गाउँपालिकाको योजना रहेको छ । त्रियुगा नगरपालिकाको बेलदोभानदेखि रौता पोखरीसम्म केवलकारको अवधारणा अघि सारी यसको कार्य योजना पनि दुवै पालिकाले बढाएको छ । साथै यसको विस्तृत परियोजना प्रतिवेदन पनि तयार भइसकेको छ । यसरी रौतापोखरी पर्यटकीय हिसाबले अत्यन्तै प्रचुर सम्भावना बोकेको अनुपम प्राकृतिक उपहारको रुपमा लिन सकिन्छ ।

एग्रो टुरिजम होमस्टे 

उदयपुर जिल्लाको उच्च भू–भागमाअवस्थित रौता पोखरी क्षेत्र, टाट्ने, रमिते, माझखर्क, ओडारे झरनाआदि क्षेत्रको दृष्यावलोकन तथा मनोरञ्जनको लागि साथै मन्दिरमा पूजा आजागर्नको लागि दैनिक रुपमाआउने आन्तरिक र बाह्यपर्यटकहरुलाई सहजर सर्वसुलभ रुपमा गास, बास र मनोरञ्जनको सेवा सुविधादिनको लागि यस गाउँपालिकाको वडा नं. ६ स्थितनिकास र वडा नं. १ को भालेबासमा एग्रो टुरिज्म होमस्टे सञ्चालनमा रहेका छन् । यस होमस्टेहरुमा पाइने सेवासुविधा साथै आत्मीय आतिथ्यता, आफ्नै कृषि बालीबाट उत्पादित अर्गानिक खानपानले पर्यटकहरुलाई प्रलोभित र आकर्षित गर्दछ । स्थानीयमौलिक संस्कृति, रहनसहन र परम्परा अनुसारको सांस्कृतिक नाचगान, क्रियाकलापले झनै पर्यटकहरुलाई मन्त्रमुग्ध र आल्हादितबनाउन सक्दछ ।

राई, मगर, शेर्पा जनजातिहरुको सांस्कृतिक सम्पदा, भेषभुषा र उनीहरुले आगन्तुक पाहुनाहरुलाई देखाउने नाचगानहरु बिर्सी नसक्नु हुन्छ । होमस्टेमा आएका पाहुनाहरुलाई न्यानो स्वागत पश्चात राई जातिको साकेला नाच, बाहुन क्षेत्रीको बालन, मगरको हुर्रे र शेर्पा जातिको स्याब्रु नाचले भरपूर मनोरञ्जन पनि दिने गरिन्छ । खानको लागिउच्च पहाडी क्षेत्रको रसिलो आलुको परिकार, मुला, लसुन, प्याज, स्थानीय कुखुरा, कोदोको रक्सी, सिस्नु, ढिँडो, काउली, स्कुसका परिकारहरु खानका लागि अत्यन्तै स्वादिष्ट हुन्छन् । निकास(रौतापोखरी) देखि काफलडाँडा सम्मको पर्वतश्रेणीको पैदलयात्राहोस्वा सवारी साधनकोयात्रा होस्, बाटाका वस्तीहरुमा भेटिने काफल, ऐसेलु, चुत्रो, आरुवखरा, नास्पातीलगायतअन्य फलफूलहरु, कन्दमूलहरु यात्राकाक्रममा रमाई–रमाई खान पाइने पदार्थहरु भेटिन्छन् । प्रकृतिको अनुपम छहारी तथा काखमा लडिबुडिको खेल्दै प्रकृतिलाई अंगालो हाल्दै जादा यात्राको क्रममा बाटामा भेटिने स–साना खुद्रे पसलकादिदी बहिनीहरुको न्यानो आतिथ्यसहितको खाजा, चियापानले झन गहिरोमोहनी नै लगाउने गर्दछ । यसर्थ यस्तो आत्मियता, आतिथ्यतालाई यात्रुहरुले ग्रहण गर्दै पुनः फर्केर आउने बाँचा कस्दै आफ्नो अविष्मरणीय यात्रा पूरा गर्ने गर्दछन् ।

ओडारे झरना

नेपालकै छैटौं अग्लो झरनाको रुपमा रहेको ओडारे झरना यस गाउँपालिकाको केन्द्र भुटारदेखि करिब ७कि. मि. को दूरीमा वडा नं. १ – ओडारेमा अवस्थित रहेको छ । रौता पोखरी निकासदेखि चौकी भन्ज्याङ्ग, डिल्लीबर, रमिते, चित्रे, माझखर्क हुँदै ओडारे स्थित ओडारे झरनामा पुग्न सकिन्छ । समुन्द्रीसतहदेखि करिब २१०० मिटरको उचाईमा रहेको यो झरनाको लम्बाई करिब १७५ मिटर रहेको छ । यो झरनामा छङछङ निरन्तर बगिरहने पानी र यस फोहोराहरु  अनि घना जंगलको सुन्दर दृष्यावलोकनले जो कोही पर्यटकहरुलाई प्रकृतिमै विलयगराउँदछ । यो झरनामा क्यानोनीङ्गको प्रचुर संभावना रहेको छ । यस झरनामा पुग्नको लागि पर्यटकीय सडक र नजिकैबाट पदमार्ग निर्माण गरी सुचारु गरिएकोे छ ।

माझखर्क, चित्रेथामर काफलडाँडा प्याराग्लाइडिङ

रौतामाई गाउँपालिकाको वडा नं. १ स्थित माझखर्क २७ड्ढ०२‘४८” उत्तरी आक्षंश र ८६ड्ढ३७‘०६” पूर्वी देशान्तरमा अवस्थित रहेको छ । यो ठाउँ लिम्चुङबुङ गाउँपालिकासँग जोडिएको सिमाना नजिकै रहेको छ । यो उच्च अनि समथर भू बनोटमा फैलिएको डाँडाको रुपमा अवस्थित छ । यस ठाउँबाट पनि खोटाङको विभिन्न ठाउँहरु, लिम्चुङबुङ र उदयपुरगढीका केही भू–भागहरु र रौतामाईको विभिन्न ठाउँहरुको दृश्यावलोकन गरी रमाइलो गर्न सकिन्छ। शितोष्ण हावापानी हुने भएकोले यस ठाउँमा हिउँदको समयमा हिउँ पनि पर्ने गर्दछ । माझखर्कको नजिकै पूर्वपट्टि चित्रेथाम रहेको छ ।  यस ठाउँबाट पनि धेरै ठाउँहरु देखिने भएकोेले यस ठाउँमा भ्यू–टावर निर्माणधिन अवस्थामा रहेको छ । खोटाङ, ओखलढुङ्गा र सोलुखुम्बु जिल्लाहरुको सञ्चारको लागि निर्मित चित्रे टावर यसै ठाउँमा रहेको छ । यस चित्रेथाममा हावा बेजोडले बहने भएकोले यहाँको मौसमक्षणभरमा नै परिवर्तन भइरहन्छ । यो ठाउँ आफैैंमा पनि भ्यू–टपको रुपमा रहेको छ । वडा नं. २ मा अवस्थितकाफलडाँडमा प्याराग्लाइडिङको सफल उडान परीक्षण भइसकेको छ । रौतापोखरीदेखि निकास हुँदै चौकीभञ्ज्याङ, पुवारे भञ्ज्याङ, डिल्लीवर, माझखर्क, आहाले, ओडारे गाउँ, निगाले डहर, नामेटार हुँदै यस काफलडाँडामा पुग्न सकिन्छ । प्याराग्लाइडिङ उडानबाट पहाडका उच्च भू–भागहरुको दृष्यावलोकन गर्दै गाउँपालिकाको केन्द्र भुटारमा अवतरणगर्न सकिन्छ । प्याराग्लाइडिङबाट उत्तर तर्फ हिमश्रृंखलाहरु र दक्षिण पश्चिमतर्फ हरियाली डाँडा, पहाड र तराईको समथर भू–भागको दृष्यावलोकनगर्न सकिन्छ । प्याराग्लाइडिङ व्ययसायको हिसाबले रौतापोखरीको डाँडा पनि संभावना बोकेको ठाउँ मानिन्छ ।

सुनकोशी ¥याप्टिङ

यस गाउँपालिकाको वडा नं. ३ र ५ को वारी भडारेघाट, विमिरे, रसुवाघाट, फोक्सिन्टार खयारबास लगायतको भू भागहरु सुनकोशी नदीको किनारमा अवस्थित रहेको छ । यस गाउँपालिकाको फोक्सिन्टारदेखि त्रि.न.पा.को धाब्लाङघाट सम्म ¥याप्टिङको सफल परीक्षण पनि गरिसकिएको छ । करिब १३ किलो मिटर दूरीमा रहेको यस ठाउँमा ४ वटा हाई ¥यापिडहरु रहेका छन् । ¥याप्टिङ गर्दा भेटिने खोटाङ जिल्लाको रमाइलो झरनामा विश्राम गरी झरनाको पानीको फोहराहरुसँगै धित मरुज्लेल लुकामारी खेल्न सकिन्छ ।त्रि.न.पा. को घाब्लाङघाटमा कोशीको माछा खाँदै थकान मारेर फर्कन सकिन्छ । व्यवसायिक रुपमा ¥याप्टिङ सञ्चालनको लागि यो ठाउँ प्रशस्त सम्भावना भएको मानिन्छ  ।

गुप्तेश्वर महादेवको मन्दिर

रौतामाई गाउँपालिकाको वडा नं. ३ माअवस्थितफोक्सिन्टार कुर्लेटार हुँदै जाने सहकको पश्चिमतर्फ गुप्तेश्वर महादेवको मन्दिर रहेको छ । यो मन्दिर प्राकृतिक रुपले नै उत्पत्तिभएको मानिन्छ । दर्शन तथापूजाआजागर्नको लागिधार्मिक पर्यटकहरु यस मन्दिरमापुग्ने गरेका छन् । उक्तमन्दिरमाबाला चर्तदशी लगायत अन्य तिथिमितिमा मेलालाग्ने गर्दछ । जहाँस्थानीय र छिमेकीगाउँपालिका, नगरपालिकाकादर्शनालम्बीहरु आउने गर्दछन् ।

रौतामाई गाउँपालिकाकोचक्रिय पर्यटकीयगन्तव्यहरु

रौतामाई गाउँपालिकाको चक्रिय पर्यटकीय गन्तव्यलाईसुनसरीको कोशी टप्पु वन्य जन्तु आरक्षण तथा सीमसार क्षेत्र हुँदै  धरानस्थित विजयपुर,विपि स्वास्थ्यबिज्ञान प्रतिष्ठान, बूढासुब्बा, दन्तकाली, पिण्डेश्वर हुँदै वराहक्षेत्र, बेलकाको मैना राजा–मैना रानी दरबार, चौदण्डीगढीको ऐतिहासिक दरबारको अध्ययन अवलोकन गर्दै महाभारत पर्वत श्रृंखलाबाट सुन्दर दृष्यावलोकन गर्दै रौतामाई गाउँपालिकाको रौता पोखरी पुग्न सकिन्छ । यहाँबाट तराईका सुन्दर फराकिला फाँटहरु, उदयपुर सिमेन्ट उद्योग र विश्वको सर्वाेच्च सगरमाथाको सहजरुपले दृष्यावलोकन गर्न सकिन्छ ।रौतापोखरीबाट माझखर्क र ओडारे झर्ना पुगी लिम्चुङबुङको टिम्बु पोखरी हुँदै पूर्वको पशुपति खोटाङको हलेसी महादेवको दर्शन गर्न पुगिन्छ । हलेसीबाट कटारीको त्रिवणी मेला भर्दै कोशीे ब्यारेज पुग्न सकिन्छ साथै सुनकोशी नदीबाट ¥याप्टिङ एवम् जलयात्रा गरी सप्तकोशी हुँदै कोशी व्यारेजसम्म पुग्न सकिन्छ ।यी ठाउँहरुमा किराँतएवं सेनवंशीशासकहरुको ऐतिहासिकथलोको अध्ययन अनुसन्धानको गन्तव्य गराउनका साथै त्यस वरिपरिकाजातजातिहरुको संस्कृतिसम्पदालाई अपूर्व गन्तव्यको रुपमा भ्रमण गर्न सकिन्छ ।

अन्त्यमा

नेपाल सरकारद्वारा सन् २०२० मा २० लाख पर्यटन भित्र्याउने उद्देश्यसहित “घुम्न आएका अतिथिको सम्मान : भ्रमण वर्ष २०२० को साझा आह्वान” नाराका साथ भ्रमण वर्ष २०२० पोखराबाट शुआरम्भ गरिएको छ । उदयपुर जिल्लाको  रौतापोखरी, ताप्ली पोखरी, चौदण्डीगढी, उदयपुरगढी, टंकेला गुफा, पाताले छाँगो, ओडारे झरना, श्रमिक पार्क, जाल्पादेवी, लिम्पाटार, चित्रेथाम, मैनामैनी, कोशी टप्पु, त्रिवेणी मेला, उदयपुर सिमेन्ट कारखाना, बेलका दरबार (भग्नावशेष) राजदह, आदि प्राकृतिक, ऐतिहासिक, सांस्कृतिक र पूरातात्विकस्थलहरु हुन् । भ्रमण वर्ष २०२० को अवसरमा भ्रमण गर्ने आन्तरिक तथा बाह्य पर्यटकहरुले यस जिल्लाको भ्रमण गर्दा छुट्टै पहिचान, महिमा, महत्व र विशेषता रहेको यी प्रमुख पर्यटकीय स्थलहरुको अवलोकन, अध्ययन, दर्शन गर्न भने कसैले छुटाउँनै नहुने गन्तव्य स्थलहरु हुन् । स्थानीय पालिकहरु, प्रदेश सरकार र संघीय सरकारद्वारा  यी पर्यटकीय स्थलहरुसम्म पुग्न, आवतजावत गर्न पर्यटकीय पूर्वाधारहरुमा लगानी गरी आवतजावतलाई सहज र सुभल बनाउँदै लगिएको छ । यी गन्तव्य स्थलहरुलाई सुरक्षित, सुविधासम्पन्न, सहज र सर्वसुलभ पनि बनाउँदै लगिएको छ । पर्यटनको विकास तथा प्रवद्र्धनबाट उदयपुर जिल्लाले तुलनात्मक रुपमा मुद्रा आर्जन, रोजगारी सिर्जना, आर्थिक क्रियाकलापमा वृद्धि गर्दै आर्थिक, सामाजिक तथा सांस्कृतिक हिसाबमाअत्यधिक लाभ लिन सक्ने देखिन्छ ।

लेखक : प्रमुख प्रशासकीय अधिकृत (रौतामाई गाउँपालिका, उदयपुर)

प्रतिक्रिया