आइत, जेष्ठ २, २०७८
Sun, May 16, 2021

रायमाझी परिवारद्वारा स्वास्थ्य चौकीलाई अक्सिजन मेसिन प्रदान

उदयपुर, असोज २९ गते ।
रौतामाई गाउँपालिकाका ७ मुर्कुचीका समाजसेवी तथा बुद्धिजिवि अमरबहादुर रायमाझीले स्वास्थ्य चौकी मुर्कुचीलाई एकथान अक्सिजन मेसिन बुधबार प्रदान गर्नुभएको छ ।
स्वास्थ्य चौकीमा आयोजित एक कार्यक्रममा रायमाझी परिवारका सदस्यहरुका साथ उपस्थित भई उहाँले अक्सिजन मेसिन प्रदान गर्नुभएको हो । रौतामाई गाउँपालिकाको प्रमुख सल्लाहकारसमेत रहनु भएका रायमाझीले गाउँपालिकाका अध्यक्ष गजेन्द्रबहादुर खड्कालाई हस्तान्तरण गर्नुभयो । गाउँपालिकाका अध्यक्ष खड्काले स्वास्थ्य चौकी व्यवस्थापन समितिका अध्यक्ष तथा ७ नं. वडाध्यक्ष उत्तरकुमार मगरलाई हस्तान्तरण गर्नुभएको थियो । उक्त मेसिनको बजार मूल्य एकलाख बढि रहेको जनाइएको छ । उक्त मेसिन दमका रोगी बृद्धबृद्धाका लागि अति उपयुक्त हो भने स्वास्थ्य चौकीमा अतिआवश्यक रहेको थियो ।

प्रमुख सल्लाहकार एवम् समाजसेवी रायमाझीको स्व. आमा सावित्रा रायमाझी दमको रोगी हुनुहुन्थ्यो । आमाका लागि खरिद गरिएको उक्त मेसिन एकहप्ता पनि प्रयोग हुन नपाए पछि गाउँका अन्य धेरै बुद्ध आमाबुवालाई सेवा, सुविधा पुग्छ भन्ने हेतुले पालिकालाई प्रदान गरेको रायमाझीले बताउनुभयो ।
दमका विरामीहरुका लागि सिलिण्डरको अक्सिजन प्रयोग गर्नुपर्ने अवस्थामा उक्त आधुनिक अक्सिन मेसिन अझ उपयुक्त हुने भएको छ । सिलिण्डरमा अक्सिजन भरिराख्नु पर्ने र छाटो अवधि मात्र पुग्नेमा उक्त आधुनिक मेसिनमा पर्याप्त अक्सिजन हुने र लामोसमयसम्म पुग्ने जनाइएको छ ।
सामाजिक सेवा र सहयोगी भावले अक्सिजन मेसिन प्रदान गर्ने रायमाझी र उहाँको परिवारलाई पालिका अध्यक्ष खड्काले धन्यावाद ज्ञापन गरेका छन् । अध्यक्ष खड्काले उक्त कार्यको प्रशंसा गर्दै अरुका लागि पनि उदाहरणीय र अनुकरणीय काम भएको बताउनुभयो ।

स्थानीय सरकारको तर्फबाट पालिकाबासीको स्वास्थ्य क्षेत्रमा सकेसम्मको पहल, प्रयासका कामहरु गर्दै आएको अवस्थामा नागरिकको तर्फबाट पनि प्राप्त यस किसिमको सहयोगले ठूलो टेवा पुग्ने पालिकाका प्रमुख प्रशासकीय अधिकृत खम्बराज राईले बताउनुभयो ।
कार्यक्रममा समाजसेवी भरतबहादुर थापा, मावि मुर्कुचीका प्रधानाध्यापक खड्ग थापा, नेपाल पत्रकार महासंघ उदयपुरका अध्यक्ष भरत खड्का समाजसेवी, बुद्धिजिवि लगायतको उपस्थिति थियो ।

प्रतिक्रिया

%d bloggers like this: