सोम, जेष्ठ ३, २०७८
Mon, May 17, 2021

भद्रपुर विमानस्थल १० दिन बन्द

कात्तिक २६ गते । 

झापाको भद्रपुर विमानस्थल आजदेखि १० दिनका लागि पूर्णरुपमा बन्द हुने भएको छ । चन्द्रगढी नागरिक उड्डयन कार्यालयले विमानस्थलको धावनमार्ग मर्मतसँगै स्तरोन्नतिको काम सञ्चालन गर्न लागेकाले मंगलबारदेखि आगामी मंसिर ५ गतेसम्म पूर्णरुपमा बन्द गरेको हो ।

१ हजार ५ सय मिटर लम्बाइ र ३० मिटर चौडाइ रहेको धावनमार्ग जीर्ण बन्दै गएकाले गत भदौ २० गतेदेखि असोज ४ गतेसम्म दिउँसो २ बजेदेखि विमान बन्द गरेर मर्मत सम्भार गरे पनि प्रभावकारी नभएपछि पुनः पूर्ण बन्द गरेर मर्मतकार्य सुरु गरेको उड्डयन कार्यालयका प्रमुख पूर्ण चुँडालले बताए ।

गौरी–पार्वती–देव एण्ड सायर जेभी काठमाण्डौले धावनमार्ग मर्मत सम्भारसँगै स्तरोन्नतिका लागि १० करोड २३ लाख रुपैयाँमा ठेक्का लिएको कार्यालयले जनाएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणसँग लिखितरूपमा अनुमति लिएर विमानस्थल बन्द गराएको प्रमुख चुँडालले बताए ।

यस विमानस्थलमा नेपाल, बुद्ध, यती, सौर्य, श्री एयरलाइन्सले उडान भर्दै आएका छन् ।

प्रतिक्रिया

%d bloggers like this: