बुध, बैशाख २९, २०७८
Wed, May 12, 2021

नेपालका ५० प्रतिशत प्रतिष्ठान दर्ता विना

उदयपुर, कात्तिक २९ गते । 

नेपालमा संचालन भएका प्रतिष्ठानमध्ये आधा प्रतिष्ठान दर्ता विना संचालन भएको एक तथ्याङ्कले देखाएको छ । कुल प्रतिष्ठानमध्ये आधा प्रतिष्ठान दता विना नै संचालन भएको केन्द्रिय तथ्यांक विभागले संकलन गरेको राष्ट्रिय आर्थिक गणना २०७५ को तथ्यांकले देखाएको हो ।

केन्द्रिय तथ्यांक विभागले संकलन गरेको राष्ट्रिय आर्थिक गणना २०७५ को तथ्यांकल नौँ लाख २३ हजार तीन सय ५६ प्रतिष्ठान रहेकाछन् । सञ्चालनमा आएका प्रतिष्ठान मध्ये चार लाख ६२ हजार ६ सय पाँच दर्ता भएको र बाँकी चार लाख ६० हजार चार सय २२ दर्ता विना सञ्चालनमा आएको तथ्यांकले देखाएको छ ।

यसरी प्रतिष्ठान दर्ता विना सञ्चालन हुँदा राज्यलाई राजश्वमा प्रत्यक्ष असर पुगेको तथ्यांक विभागका निर्देशक अनिल शर्माले बताए । उनले भने, ‘५० प्रतिशत आर्थिक कारोबार गर्ने प्रतिष्ठना विना दर्ता सञ्चालनमा छन्, तिनीहरुले न राज्यलाई न स्थानीय सरकारलाई नै कर बुझाउँछन् ।

विभागले तयार पारेको तथ्यांकको बिहीबार उदयपुरको सदरमुकाम गाईघाटमा सार्वजानिक गर्दै निर्देशक शर्माले विना दर्ता सञ्चालन भएका प्रतिष्ठानलाई राज्यले नीति बनाई कानुनी दायरमा ल्याउन आर्थिक गणनाले मद्धत पुग्ने बताए । तथ्यांकले देशभर सञ्चालन भएका प्रतिष्ठानमा २० लाख १२ हजार दुई सय ३७ पुरुष र १२ लाख १६ हजार दुई सय २० गरी ३२ लाख २८ हजार चार सय ५७ जना जनशक्ति खपत भएको देखाएको छ ।

उदयपुरमा ११ हजार प्रतिष्ठान  

आर्थिक गणनाले उदयपुरमा ११ हजार पाँच सय १५ प्रतिष्ठानमा २७ हजार आठ सय ९३ जनाले रोजगार पाएको देखाएको छ । रोजगार पाएका मध्ये १६ हजार दुई सय ७९ जना पुरुष र ११ हजार ६ सय १४ महिलाको संख्या रहेका छन् ।आर्थिक कारोवार हुने प्रतिष्ठानमा सबैभन्दा बढि थोक तथा खुद्रा व्यापार मोटर गाडी, मोटरसाइकल मर्मतमा पाँच हजार नौँ सय २० वटा प्रतिष्ठान दर्ता छन् । ती प्रतिष्ठानमा महिला र पुरुष गरी १० हजार एक सय ७९ जनाले रोजगार पाएका छन् ।

त्यसैगरी रोजगारको हिसावले दोस्रोमा शैक्षिक क्षेत्रतर्फ पाँच सय ९३ विद्यालयमा पाँच हजार सात सय ९० जनशक्तिले रोजगार पाएका छन् । औधौगिक उत्पादनको क्षेत्रमा एक हजार तीन सय ७२ प्रतिष्ठानमा तीन हजार पाँच सय १२ जना जनशक्तिको खपत भएको देखाइएको छ । आवास सुविधा तथा खाना व्यवस्थामा दुई हजार एक सय ३० जना जनशक्ति रहेकाछन् ।

तथ्यांकले सबैभन्दा कम घर जग्गा कारोवार गर्ने प्रतिष्ठान एक वटा दर्ता भएको र रोजगार पनि एक जनाले मात्र पाएको देखाएको छ । प्रतिष्ठनामध्ये सबैभन्दा बढि सदरमुकाम गाईघाटमा रहेको त्रियुगा नगरपालिका क्षेत्रमा चार हजार एक सय ६९ मध्ये दर्ता भएका दुई हजार पाँच सय ३४ र एक हजार ६ सय ३५ वटा दर्ता विना सञ्चालनमा रहेका छन् । यो नगरपालिकामा ११ हजार ६ सय ९० जनशक्तिले रोजगार पाएका छन् ।

जिल्लाका आठ वटा स्थानीय तहमध्ये सबैभन्दा कम लिम्चुङबुङ गाउँपालिकामा दुई सय ६७ प्रतिष्ठना मध्ये एक सय १२ वटा दर्ता र एक सय ५५ वटा विना दर्ता सञ्चालनमा छन् । यो गाउँपालिकामा ६ सय ९ जना जनशक्ति खपत भएका छन् ।

सञ्चालनमा आएका प्रतिष्ठानहरु मध्ये व्यवसायिक उदेश्यका लागि ऋण लिएका प्रतिष्ठानको संख्या तीन हजार आठ सय ९१, वित्तिय संस्थमा दुई हजार एक सय चार, वित्तिय संस्था वाहेकमा एक हजार सात सय ९६ वटाको ऋणमा पहुँच पुगेको जनाइएको छ ।

आर्थिक गणनाले नियमित आर्थिक तथ्यांकको आधार र मुलकलाई आर्थिक समृद्धीको दिसातर्फ अग्रसर बनाउनका लागि महत्वपूर्ण भुमिका निर्वाह गर्ने जिल्ला तथ्यांक कार्यालय उदयपुरका तथ्यांक अधिकृत शिवनारायण महत्तोले बताए । देशको आर्थिक अवश्था झल्काउने उदेश्यले तथ्यांक कार्यालयले जापान सरकारको सहयोगमा २०७५ बैशाख १ गतेदेखि जेष्ठ ३१ गतेसम्म देशभर एकैसाथ चार हजार पाँच सय गणक कर्मचारी खटाई नेपालको प्रथम राष्ट्रिय आर्थिक गणना गरेको थियो ।

यसरी आर्थिक गणना गर्दा खटिएका कर्मचारीले निश्चित ठाउँमा बसेका प्रतिष्ठानलाई मात्र समेटेको तथ्यांक निर्देशक अशोक भट्टराईले बताए । उनले भने, ‘घुमेर व्यापार व्यवसाय गर्ने प्रतिष्ठान व्यक्तीलाई भेटन गार्हो भएकाले समेटन सकेनौ, यदि त्यो पनि समेटन सकेको भए संख्यामा बृद्धी हुने थियो ।

कार्यक्रममा बोल्दै जिल्ला समन्वय समितिका प्रमुख खड्गबहादुर परियारले देशको आर्थिक विकासमा आर्थिक कारोवार गर्ने प्रतिष्ठानको भुमिका रहने भएकाले आगामी दिनमा नीतिगतरुपमै व्यवस्था गरी यीनीहरुको सुक्ष्मरुपले अध्ययन गर्नु पर्ने बताए । उनले जनसंख्याको अनुपातमा प्रतिष्ठानको संख्या निकै कम आएकाले दोस्रो आर्थिक गणनामा छुटेकालाई पनि समेटन सुझाब दिए ।

प्रमुख जिल्ला अधिकारी धुर्वबहादुर खड्काले तथ्यांकमा समेटिएका रोजगार पाएका व्यक्ति स्वदेश वा विदेशको भएको भन्ने एकिन नभएको बताए । उनले नेपालीहरु विदेशिने र विदेशीहरु नेपालमा आई काम गरिरहेकाले रोजगार कसले पाएको भन्ने कुराको एकिन हुनु पर्नेमा जोड दिए ।

प्रजिअ खड्काले आर्थिक गणना गर्दा औपचारिक प्रतिष्ठान मात्र नभई अनौपचारिक क्षेत्र घरमा पालिएका खसी, बाख्रा, गाई, भैसीको समेत गणना गर्नु पर्ने सुझाब दिए । बेलका नगरपालिकाका मेयर दुर्गाकुमार थापाले समयमा नआएको नतिजाको महत्व नरहने भएकाले समयमा नतिजा यसरी नै सार्वजानिक गर्दै लैजान सुझाब दिए ।

प्रतिक्रिया

%d bloggers like this: