सोम, जेष्ठ ३, २०७८
Mon, May 17, 2021

उदयपुरको किविले बजार पाएन

उदयपुर, मंसिर ३ गते ।

उदयपुरमा पहिलो पटक उत्पादन भएको किविले बजार नपाउँदा कृषकहरु समस्यामा परेका छन् । रौतामाई गाउँपालिका–६ बोलुङ्खामा पहिलो पटक उत्पादन भएका किविले बजार नपाउँदा कृषकहरु समस्यामा परेका हुन् ।

जिल्ला कृषी कार्यालयबाट तीन वर्ष पहिले लगेर रोपेको किवीको विरुवाले राम्रो फल दिन थालेपछि बजारको समस्या आएको कृषक मदन राईले बताए । अहिले किवि एक घरमै करिब २ सय ५० केजी भन्दा बढी उत्पादन भएको कृषक राईले बताए । उनले भने ‘किवि पाक्न थाल्यो । तर बजार पाईएन ।’

महत्वपूर्ण फल भएपनि किविको महत्व नबुझेका गाउँलेहरुले तेतिकै दिए पनि नखाने गरेको कृषकहरुले बताएका छन् । सुन्तला, जुनार जस्तो खान नजानेको र यसको महत्व नबुझ्नाले उत्पादन भएका किवीले बजार पाउन नसकेको हो ।

किविले राम्रो उत्पादन दिएपछि बजारको लागि धेरै व्यापारीहरु खोजे पनि अहिलेसम्म कुनै निकाय र व्यक्ति नभेटिएकाले किविको बजारी करण नभएको कृषक राईले बताए । बाहिर घुम्न जादा अन्य ठाउँको किवि खाएकाले आफुले बारी उत्पादन गरेको किवि पनि अरु भन्दा स्वादमा फरक नभएको उनले बताए । गाई भैसीको गोबरमा उत्पादन भएको अर्गानिक किविले बजार पाएको छैन । एकै पटक गाउँमा ८÷१० घरले किविको विरुवा रोपेपनि अहिले दुई घरले रोपेको किविले मात्रै राम्रो फल दिन थालेको छ । सुख्खा पाखामा रोपेका विरुवाले फल दिन अझै केहि वर्ष लाग्ने छ ।

कृषीको सल्लाह अनुसार २ फिटको खाडल खनेर गाठे मल प्रयोग गरी रोपेर त्यसलाई बाँसको गोठ छानो बनाई दिएको कृषक राईले बताए । पहिलो वर्ष छ फिटमा मुन्टा गिडेको र दोस्रो वर्ष एक फिट माथि र तेस्रो वर्ष थप एक फिट माथि मुन्टा गेड्ने कृषीको सल्लाह अनुसार गरेको तीन वर्षमै राम्रो फल दिन थालेको उनले बताए ।

कृषक राईले भने ‘अन्य नगदे बालिलाई जस्तो मेहनत गर्नु नपर्ने रहेछ । लहरा हुने भएकाले झार पनि खासै नआउनाले मल जलमा पनि खासै मेहनत गर्नु नपर्ने रहेछ । कम मेहनतमा राम्रो फल उत्पादन हुने रहेछ । तर बजारीकरण हुन नसक्दा चिन्ता पैदा भएको छ ।

थोरै भए खाएर र गाउँमा बाढेर भएपनि सक्नु हुन्थ्यो । एकै घरमा अढाई क्विईन्टल भन्दा बढी किवी फलेको छ । किवि नपाक्दा गैरसरकारी संघ सस्थाले चासो देखाएपनि फल पाकेपछि कसैले चासो पनि दिएन । व्यापारी खोज्दा समेत नपाएको कृषक राईले बताए ।

किवि व्यावासय गर्नका लागि राम्रो ठाउँ भएको कृषक राईले बताए । तर यसको महत्व नबुझ्नु र बजारीकरण हुन नसक्दा कृषकहरुको मनोवल घट्दै जाने उनले बताए । सम्बन्धित निकायले कृषकहरुलाई प्रोत्साहन गर्नका लागि बजारीकरण गर्न जरुरी रहेको छ ।

किविमा भिटामिन, खनिज जस्ता मानिसलाई नभई  नहुने तत्व र औषधीकै रुपमा पनि लिने गरिएको छ । पेटको समस्या, मधुमेह, निमोनिया, दम, रक्तचाप लगायतका धेरै रोगहरुलाई नियन्त्रण गर्ने गर्दछ । किवि फल खानाले मानिसालाई स्वास्थ्य राख्दछ । तर मानिसहरुले फलफुलको महत्व नबुझ्नाले फलफुल कमै खाने गरेका छन् ।

प्रतिक्रिया

%d bloggers like this: