
उदयपुर, बैशाख १६ गते ।
उदयपुरमा गम्भिर प्रकृतिका अज्ञात रोग फेला परेको छ । रौतामाई गाउँपालिका–६ नामन्ताका मगर जातीको समाल थरका बासिन्दाहरुमा शरिर काप्ने अज्ञात रोगको विरामी फेला परेको हो ।
अज्ञात रोग २५ वर्ष उमेर कटेपछि सबैमा लाग्ने गरेको स्थानियबासीले बताएका छन् । सो गाउँमा समाल थरका १४ घरको बसोबासी छ । यसै रोगका कारण तीन जनाको ज्यान समेत गईसकेको बताइएको छ । विमारीले च्यापेपछि हिजो आइतबार ७ जनालाई जिल्ला अस्पताल उदयपुरमा भर्ना गरिएको छ ।
७० वर्षीय डम्बरबहादुर समाल मगर, ६४ वर्षीय तुलबहादुर समाल मगर, ६४ वर्षीया जानीमाया मगर, २९ वर्षीय बलबहादुर समाल मगर, ४० वर्षीया हिरामाया मगर, ३६ वर्षीया ललीमाया मगर र २९ वर्षीय पुष्प समाल मगर अस्तालमा भर्ना भएका हुन् ।
समाल थरको छोरा वा छोरीमा मात्रै देखा परेको रोग बुहारी र छोरीका छोरा छोरीमा भने देखा नपरेको बताइएको छ । रोगको सुरुवाती लक्षण हात, खुट्टाबाट देखिने गरेका छ । विस्तारै विस्तारै पुरै शरिर नै काप्ने गरेको छ ।
अनौठो खालको विरामी देखा परेकाले रोगको पहिचान खुल्न नसकेको जिल्ला अस्पताल उदयपुरका डाक्टर अरुण मण्डलले बताए । नयाँ प्रकृतीको विरामी भएकाले विराटनगर रेफर गर्न तयारी भईरहेको डाक्टर मण्डलले बताए ।