Thursday, July 2News That Matters

अधिकृत र इन्जिनियरविरुद्ध विशेष अदालतमा भ्रष्टाचारको मुद्दा दायर

पूर्णपुष्टि, साउन २५

घरेलु तथा साना उद्योग कार्यालय नेपालगञ्ज, बाँकेका सातौं तहका उद्योग अधिकृत हुकुमबहादुर ओली र बाग्लुङको ढोरपाटन नगरपालिका कार्यालयका इन्जिनियर मिलन अधिकारीविरुद्ध विशेष अदालत काठमाण्डौमा भ्रष्टाचारको मुद्धा दायर भएको छ ।

अधिकृत ओलीले ठेक्का पट्टाको अनुमति–पत्र बनाइदिने भन्दै ९६ हजार ३ सय रुपैयाँ घुस लिइरहेको अवस्थामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले ओलीलाई पक्राउ गरेको थियो । सेवाग्राहीले पेश गरेका कागजात पुरा नभएको भन्दै बाँकी रहेका कागजात पेश नगरे काम नहुने डर देखाइ घुस लिएको अभियोगमा अख्तियारले मुद्धा दायर गरेको हो ।

त्यस्तै इन्जिनियर अधिकारीले उपभोक्ता समितिमार्फत सडक निर्माण सम्बन्धी योजनामा भुक्तानी दिएबापत विभिन्न बहाना बनाएर १ लाख रुपैयाँ घुस लिएको आरोप छ ।

उनले गुजा–सिलगुम–ओखरधारा–खोलेसिबाङ सडक निर्माण योजनाको अन्तिम मुल्याङ्कन बनाउने प्रयोजनको लागि १ लाख रुपैयाँ घुस लिएको पुष्टि भएको आयोगले जनाएको छ ।