दिनेश दाहाल
भुट्टार, वैशाख ३१ गते
जाल्पा एकिकृत समाज नेपाल, उदयपुरले रौतामाई गाउँपालिका–२ भुट्टारमा एकदिने अतिजोखिममा रहेका अपांगता भएका बालबालिकाहरुको अधिकार पहिचान सम्बन्धी बिहिबार अन्तरक्रिया सम्पन्न गरेको छ ।
राजनीतिक दलका नेता, कार्यकर्ता, जनप्रतिनिधि, नागरिक समाज, बुद्धिजिवि, बालक्लव प्रतनिधी लगायतको उपस्थितिमा भएको अन्तरक्रियामा बालअधिकार सम्बन्धी सचेतनामुलक जानकारी दिइएको थियो । खासगरी अपांगता भएका बालबालिकाहरुको खोजी गरी उनीहरुको अधिकारको बारेमा जानकारी दिने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको गाउँपालिकाका कार्यपालिका सदस्य देवी दाहालले जानकारी दिनुभयो । दाहालका अनुसार यस कार्यक्रमले बालमैत्री वडा बनाउने अभियानमा पनि टेवा पुर्याएको छ ।
जाल्पा एकिकृत समाजका फिल्ड अफिसर युवराज राईले सहजिकरण गरेको कार्यक्रममा अपांगता भएका ६ बालबालिकाको पहिचान गरी शैक्षिक सामग्री वितरण समेत गरिएको थियो । कार्यक्रममा बाल विवाह र गर्भपतन बारे पनि सचेतनामुलक जानकारी दिइएको थियो ।