
पूर्णपुष्टि, चैत ३
उत्तर कोरियाका नेता किम जोङ उनकी प्रभावशाली बहिनी किम यो–जङले अमेरिकालाई चेतावनी दिएकी छिन् । किम यो–जङले कोरियाली नीति सार्वजनिक गर्ने तयारी गरिरहेको अमेरिकालाई ’दुर्गन्ध नफैलाउन’ चेतावनी दिएको अन्तराष्ट्रिय संचारमाध्यमले जनाएका छन् ।
अहिले अमेरिकी राष्ट्रपति जो बाइडेनले कोरियाली नीति सार्वजनिक तयारी गरिरहनुभएको छ । साथै यो–जङले दक्षिण कोरिया र अमेरिकाबीचको संयुक्त सैन्य अभ्यासको पनि आलोचना गरेकी छिन् ।
अमेरिकको नयाँ प्रशासनले समुद्रपारिको आफ्नो भूमिमा बारुदको गन्ध फैलाउने सङ्घर्ष गरिरहेको जनाएकी छिन् । चार वर्षसम्म चैनको निद्रा लिन मन छ भने दुर्गन्ध फैलाउनबाट टाढै बस्दा राम्रो हुने बताएकी जनाइएको छ ।
एक सरकारी सञ्चारमाध्यममा अन्तर्वार्ता दिँदै उनले दक्षिण कोरियाको सहर सोलमा अमेरिकी अधिकारी पुग्नुभन्दा एक दिन पहिला यस्तो प्रतिक्रिया दिएकी हुन् । अमेरिकी सरकारले भने उत्तर कोरियासँग राजनीतिक सम्पर्क बनाउने कोसिस गरे पनि विफल भएको जनाएको छ ।
उत्तर कोरियाले अझै पनि आधिकारिक रूपमा बाइडेनलाई अमेरिकी राष्ट्रपति स्वीकार गरेको छैन ।
उत्तर कोरियाको परमाणु र ब्यालेस्टिक मिसाइल कार्यक्रमका कारण दुई देशबीच तनाव बढिरहेको छ ।
