
पूर्णपुष्टि, चैत ६
पर्सामा नागरिकता कीर्ते गर्ने एक जना पक्राउ परेको छ । पर्सागढी नगरपालिका–३ का सुजित थापा मगर नागरिकता किर्ते गरेको आरोपमा पक्राउ परेको हो ।
सुजितसँग दुई वटा नागरिकता रहेको भन्ने सूचना पाएपछि प्रहरीले खोजी सुरु गरेको थियो । बुधबार अपरान्ह गाउँमै हिँडिरहेको अवस्थामा उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
सुजितले लगाएको पाइन्टको अगाडिको दाहिने खल्तीमा पर्साको पर्सागढी नगरपालिका–३ बस्ने खुमबहादुर थापाको छोरा सन्तबहादुर थापाको नामको नागरिकता फेला परेको थियो ।
जिल्ला प्रशासन कार्यालय, पर्साबाट २०७५ पुस ४ गते जारी भएको ना.प्र.नं. ३४–०१–७५–१४२७४ को सक्कल नेपाली नागरिकता प्रमाणपत्र र सोही विवरण भएको नेपाली नागरिकता प्रमाणपत्रको सक्कल प्रथम प्रतिलिपि गरी दुई थान नागरिकता भेटिएको प्रहरीले जनाएको छ ।
तर प्रतिलिपि नागरिकतामा सुजितले सन्तबहादुरको फोटोको ठाउँमा आफ्नो फोटो टाँसी कीर्ते कार्य गरेको देखिएकाले पक्राउ गरी अनुसन्धान सुरु गरिएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।
पर्सा जिल्ला अदालतबाट लिखतसम्बन्धी कसूर मुद्दा शीर्षकमा ५ दिनको म्याद लिई थप अनुसन्धान प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ ।
