Saturday, April 25News That Matters

अश्वेत युवालाई गोली हान्ने प्रहरी पक्राउ

वैशाख २ 

अमेरिकामा एक अश्वेत युवकलाई गोली हान्ने प्रहरी अधिकृत पक्राउ परेकी छन् । मिनिसोटामा  ट्राफिक नियम उल्लंघन गरेको आरोपमा एक अश्वेत युवकलाई गोली हान्ने प्रहरी अधिकारी किम पोटरलाई पक्राउ गरिएको हो ।

उनीमाथि गैरन्यायिक हत्या (सेकेन्ड डिग्री म्यानस्लटर) को मुद्दा चलाउने तयारी भइरहेको छ । सो मुद्दा अनुसार उनी दोषी ठहर भएमा बढीमा १० वर्ष कैद र २० हजार डलरसम्म जरिवाना हुन सक्ने अन्तराष्ट्रिय संचारमाध्यमले जनाएका छन् ।

ट्राफिक नियम उल्लंघन गरेको आरोपमा प्रहरी अधिकारीको हातबाट गोली चल्दा २० वर्षीय डन्टे राइटको मृत्यु भएको थियो । उनलाई हत्कडी लगाउन खोज्दा प्रहरीसँग घम्साघम्सी भएको थियो । त्यही क्रममा दुर्घटनाबस गोली चलेको प्रहरीले जनाएको थियो ।

यो घटनापछि प्रहरी प्रशासनविरुद्ध स्थानीय प्रदर्शनमा उत्रिँदा तनाव भएको थियो । स्थिति नियन्त्रणमा लिन मिनियापलिस र सेन्ट पलमा रात्रिकालीन कर्फ्यु लगाउनु परेको थियो ।