Monday, February 17News That Matters

लिम्चुङ्बुङको मगर होमस्टेमा अर्गानिक खाना लोकप्रिय

अनिसा थापा मगर / प्रशिक्षार्थी पत्रकार

ताम्लिछा, असार १ गते ।

उदयपुरको लिम्चुङ्बुङमा संचालित मगर होमस्टेमा स्थानीय अर्गानिक खाना तथा परिकार लोकप्रिय बनेको छ । गत वर्षदेखि संचालनमा आएको होमस्टेमा पाहुनाहरुले स्थानीय अर्गानिक खाना तथा परिकारहरु मन पराएपछि लोकप्रिय बन्दै गएको हो ।

लिम्चुङ्बुङ गाउँपालिका – २ ताम्लिछा डाँडागाउँमा गत वर्षको फागुनदेखि होमस्टे संचालन भएको थियो । मगर जातीको बाहुल्यता भएको सो गाउँमा १० घर होमस्टे संचालित छन् । होमस्टेमा मगर जाती विशेष तथा स्थानिय परिकारको स्वाद लिन सकिने र मगर जातीको पहिचान झल्काउने सास्कतिक कार्यक्रम पनि हुने गरेको संचालक कृष्ण दलार्मी मगरले बताए ।

स्थानीय स्तरमा उत्पादन भएको अर्गानीक खाना तथा परिकारमा कोदोको सेलरोटी, भुटेको मकै भटमास, गुन्द्रूकको अचार, सिस्नु, कोदोको ढिडो, स्थानीय जातका दाल, लोकल कुखुराको मासु, बंगुरको मासु लगायतका खाना परिकार पाईने मगर होमस्टे ताम्लिछाका अध्यक्ष तेजबहादुर मगरले बताए । त्याहा पाईने खाना तथा परिकार अतिथिको रुपमा आउने पर्यटकहरुले अत्याधिक मन पराउने र खान ईच्छा व्यक्त गर्ने गरेका अधयक्ष मगरले बताए ।

होमस्टेमा पाहुनाहरुको ईच्छा अनुसारको खाना परिकार बनाईने र मानोरञ्जनका लागि मगर जातीको पहिचान झल्काउने हुर्रा, मारुनी जस्ता लोक नृत्य तथा अन्य मनोरञ्जनात्मक कार्यक्रम पनि हुने उनले बताए ।

विकट गाउँमा संचलान भएको होमस्टेको प्रचार प्रसार कमी हुनु र सकडको अवस्था नाजुक हुनुको कारणले पर्यटकहरुको आउने संख्या कमै भएपनि जे जति आएका छन्, खुसी भएर फर्कने गरेको जिल्ला समन्वय समितिका सदस्य समेत रहेका मगर होमस्टे संचालक समितिका सल्लाहकार बोधबहादुर मगरले बताए । जातीय सस्कार सस्कृतिको प्रवद्र्धनसँगै पालिकामा बाह्य तथा आन्तरिक पर्यटक भित्र्याउने उद्देश्यका साथ होमस्टे संचालनमा पालिकाको पनि सहयोग रहेको छ । हालै लम्जुङ्को घले गाऊँ, ईलामको गढीथुम्का लगायतका नेपालका प्रख्यात होमस्टेहरुको भ्रमणसमेत पालिकाले गराएको पालिकाका प्रमुख प्रशासकीय अधिकृत भक्तबहादुर राईले बताए ।

लिम्चुङ्बुङमा मगर होमस्टे अलवा ३ नम्बर वडाको मिसिन्टारमा कार्की होमस्टे, ४ नम्बर वडाको यलम्बर होमस्टे लगायत पनि संचालित छन् । सवै होमस्टेहरु संचालनका लागि पालिकाले सहयोग गर्ने राईले बताए ।