पूर्णपुष्टि, कार्तिक ३० गते ।
भक्तपुरमा आज बिहान पौने ८ बजे आगलागी हुँदा एक २५ वर्षीया युवतीको ज्यान गएको छ । मध्यपुरठिमी नगरपालिका–६ राईटोल माथिल्लो कुण्डोलमा ४९ वर्षीय आत्माराम केसी र ४१ वर्षीय हरिशरण केसीको घरमा आगलागी भएको जिल्ला प्रहरी परिसर भक्तपुरले जनाएको छ ।
आगलागीमा परी आत्मारामकी छोरी अस्मिताको मृत्यु भएको हो । पौने ९ बजे उनी मृत भेटिएको प्रहरीले जनाएको छ । मृतक अस्मिता सुस्त मनस्थिति र प्यारालाइसिस रोगकी बिरामी थिइन् ।
यस्तै हरिशरणकी १४ वर्षीया छोरी नित्मा केसीको उद्धार गरी कोरियन अस्पताल लगिएको थियो । उनको डिस्चार्ज पनि भइसकेको प्रहरीले जनाएको छ ।
नेपाल प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरी बल, भक्तपुरबाट दुई वटा दमकल, जनप्रतिनिधि र स्थानीयको सहयोगमा पौने ९ बजे आगो नियन्त्रणमा आएको हो ।
घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
