
पूर्णपुष्टि, कात्तिक २८
आज काग तिहार र धनतेरस मनाइँदैछ । कार्तिक कृष्ण त्रयोदशीका दिनमा मनाइने काग तिहारमा कागलाई मीठो–मीठो खानेकुरा खान दिइन्छ ।
बिहान सूर्योदयकालमा त्रयोदशी भएको दिन काग तिहार मनाउनुपर्ने भएकाले आज काग तिहार मनाउने निर्णय गरिएको नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ ।
कागलाई सन्देशवाहकका रुपमा पूजा गर्ने गरिन्छ । यस अवसरमा काठमाण्डौको कागेश्वरी मनोहरा नगरपालिका–१ कागेश्वरी महादेव मन्दिरमा आज विशेष पूजा हुने गर्छ । यसैगरी हनुमानढोकामा रहेको कागेश्वरी मन्दिरमा पनि कागको विशेष पूजा गरिन्छ ।
कार्तिक कृष्ण त्रयोदशीकै दिन सुरु हुने यमपञ्चक भने हिजो बेलुकादेखि सुरु भएको छ । यस वर्ष तिथिको घटबढका कारण यमपञ्चक हिजो बेलुकीदेखि नै सुरु भएको हो ।
त्यस्तै गरगहना एवं तामाका भाँडाकुँडा किन्ने धनतेरस पर्व पनि आज मनाइँदैछ । धनतेरसमा गरगहना तथा भाँडाकुँडा किनेमा लक्ष्मी घरमै स्थिर भएर बस्ने मान्यता छ ।
