Friday, February 7News That Matters

आज गाईघाटमा वर्षकै ठूलो साकेला प्रतियोगिता

उदयपुर, जेठ ३१ गते । उदयपुरको गाईघाटमा आज वर्षकै ठूलो र विशेष प्रतियोतात्मक साकेला सिली नाच हुदैछ । प्रतियोगिता सञ्चालन हुने आयोजक समितिका अध्यक्ष प्रकाश राईले बताए ।

प्रतियोगितामा १ नं. प्रदेशभरीका साकेलासीली नाच समुहहरुले सहभागिता जनाउनेछन् । साकेलामा उत्कृष्ठ प्रदर्शन गर्दै आएका मोरङ, सुनसरी, उदयपुर र खोटाङका १४ समुह भन्दा बढिले भाग लिने अध्यक्ष राईले बताए ।

विगतमा ३ वर्ष लगातार जितेर ह्याट्रिक गरेको मोरङ पथरीको साकेला समुहले पनि भाग लिएको छ । गतवर्ष विजेता सुनसरी तरहराको साकेला समुहले पनि भाग लिएको छ भने उदयपुरको बलम्ता, बेल्टार, बसाहा, बेलका र गाईघाटका विभिन्न साकेला समुहले भाग लिएका छन् । प्रतियोगिता रोचक हुने आयोजकको दावी छ । “विगत १२ वर्षदेखि नियमितरुपमा चलिरहेको प्रतियोगिता १ नं. प्रदेशकै विशेष बनेको छ ।” अध्यक्ष राईले भने “यसवर्ष पनि विशेष बन्नेमा हामी ढुक्क छौं ।”

किराँत राईहरुको महान् पर्व साकेला उभौलीको अवसरमा हरेक वर्ष किरात राई यायोक्खा नगर क्षेत्रका प्राकसहरुको संयुक्त आयोजनामा गाईघाटमा हुने साकेला प्रतियोगिताले विशेष महत्व बोक्न थालेको छ । साकेलाको सबैभन्दा ठूलो मर्म र महत्व बोकेको सीली नाचको प्रवद्र्धन र विकासमा प्रतियोगिताले टेवा पुर्याएको छ ।

प्रतियोगिताको प्रथम पुरस्कार स्व. गिता राईको स्मृतिमा ३० हजार नगद रहेको छ । गाईघाटका समाजसेवी नरध्वज राईले आप्mनी छोरी स्व. गीता राईको स्मृतिमा साकेला कोषसमेत स्थापना गरिदिएका छन् । दोस्रो पुरस्कार समाजसेवी प्रेम चामलिङकी स्वर्गिय श्रीमती प्रेमीला राईको स्मृतिमा २० हाजार नगद छ । त्यस्तै तेस्रो पुरस्कार डा. कैलाशकुमार राईको स्वर्गिय आमा कुविरा राईको स्मृतिमा १० हजार नगद छ ।

त्यसैगरी सान्तवना पुरस्कार नगद ७ हजारको, त्रियुगा नगरपालिकाका प्रथम मेयर स्वर्गिय लालसेर राईको स्मृतिमा उहाँकी श्रीमती मिथिला राईबाट रहेको छ । त्यस्तै स्वर्गिय बुवा जगतबहादुर राई र आमा बसन्तदेवी राईको स्मृतिमा युवा समाजसेवी किसन राईबाट सान्त्वना पुरस्कार रहेको छ भने स्वर्गिय छोरो अरुण खालिङको स्मृतिमा आमा हिरामोती राईबाट पनि रहेको छ ।