पूर्णपुष्टि,पुष १५ । गुरुङ समुदायले ‘तमु ल्होसार’ पर्व मनाउँदैछन् । तमु ल्होसार गुरुङ जातिको महान चाड हो । पुरानो वर्षलाई बिदाइ गरी नयाँ वर्षलाई स्वागत गर्न तमु ल्होसा मनाउने प्रचलन रहेको छ । यो चाड खासगरी नेपालमा र विश्वका अन्य देशहरूमा पनि मनाइने गरेको पाइएको छ ।
ल्होसारकै दिनभन्दा अघिल्लो साँझदेखि नै यसलाई मनाउन सुरू गरिन्छ । साँझ पूजापाठ,भोजभत्तेर,नाचगान गरी आधा रातमा नयाँ वर्ष आयो भन्दै नयाँ वर्षको स्वागत गरिन्छ । ‘तमु ल्होसार’ पर्व सूर्यको किरणसँग सम्बन्धित छ । गुरुङ जाति देशको विभिन्न ठाउँमा छरिएर बसेका छन् जस्तै,कास्की,गोरखा,लमजुङ,तनहुँ,चितवन,दैलेख,बाँके,सुर्खेत,मनाङ,रुम्जाटार,खोटाङ काठमाडौँ आदि लगायतका ठाउँहरुमा उक्त समुदायीको बसोवास रहेको पाईन्छ । उक्त ठाउँमा सूर्यको ताप पहिले आउने भएकाले पुस १५ मा यो पर्व मनाउने गरिएको हो ।
‘ल्हो’ को अर्थ वर्ष र ‘सार’ को अर्थ फेरिनुभएकाले वर्ष फेरिने दिनलाई ‘तमु ल्होसार’ भनिएको हो । यसपछि क्रमशः तामाङ र शेर्पा जातिको बसोबास भएको क्षेत्रमा सूर्यको ताप आउने भएकाले माघ र फागुनमा यो पर्व मनाइने विश्वास गरिन्छ । पुस १५ गतेको रात सबैभन्दा लामो हुने र यसपछिका रात घट्दै जाने भएकाले पनि यस पर्वको महत्व रहेको बताइन्छ । यी समुदायका नेपालीहरु मुलुक बाहेक विश्वका विभिन्न देशहरू जस्तै,बेलायत,अस्ट्रेलिया,हङकङ,बुर्नाई,जर्मनी,भारत आदि देशहरूमा पनि गुरूङ जातिको बसोवास रहेको छ ।
