
पूर्णपुष्टि,असार २६ । विश्व जनसंख्या दिवस नेपालमा आज पनि मनाइदैछ । संयुक्त राष्ट्रसघंको आह्वानअनुसार सन् १९८९ बाट हरेक वर्ष विश्वभरिका जनसङ्ख्याका मुद्दाहरूलाई सम्बोधन गर्ने हेतुले विश्व जनसङ्ख्या दिवस हरेक वर्ष जुलाई महिनाको ११ तारेखका दिन मनाउन थालिएको हो ।
पृथ्वीमा मानव–प्रजाति सृष्टि भएयता जनसङ्ख्या एक अर्ब पुग्न करिब तीन लाख वर्ष लागेको थियो । सन् २०२३ को जनसङ्ख्या दिवसमा आइपुग्दा पछिल्लो १२ वर्षमै एक अर्ब जनसङ्ख्या थपिएको छ । यससँगै संसारको जनसङ्ख्या आठ अर्ब पुगेको पनि भर्खरै घोषणा गरिएको थियो । विश्व जनसङ्ख्या दिवसको अवसरमा प्रकाशित संयुक्त राष्ट्रसङ्घीय जनसङ्ख्या प्रतिवेदन अनुसार‚ १५ नोभेम्बर सन् २०२२मा संसारको जनसङ्ख्या आठ अर्ब पुगेको अनुमान गरिएको हो ।
यस प्रतिवेदनले सन् २०२३ मा संसारको सर्वाधिक जनसङ्ख्या हुने देशको पहिलो सूचीमा भारत उक्लिने देखाएको छ। यसअघि चीनमा संसारकै धेरै मान्छे थिए। चीनभन्दा भारतको जनसङ्ख्या वृद्धिदर धेरै भएपछि भारत सबैभन्दा धेरै जनसङ्ख्या हुने मुलुकको पहिलो स्थानमा उक्लिन लागेको हो। राष्ट्रसङ्घले सन् २०३० मा विश्वको जनसङ्ख्या आठ अर्ब ५० करोड हाराहारीमा पुग्ने प्रक्षेपण गरेको छ। त्यसै गरी सन् २०५० मा विश्वको जनसङ्ख्या नौ अर्ब ७० करोड पुग्ने अनुमान गरिएको छ। सन् २०८० मा १० अर्ब ४० करोड पुग्ने र सन् २१०० सम्म कायम रहने अनुमान छ ।
