
पूर्णपुष्टि, असार १८
आज ६ प्रतिशतले नेप्से घटेपछि सर्किट ब्रेक लागेर शेयर कारोबार बन्द भएको छ । बजार खुलेको १ घण्टा ४० मिनेटमा ६ प्रतिशत अर्थात् ८०.४१ अङ्कले घटेर नेप्से १ हजार २ सय ५६.११ अङ्कमा बन्द भएको हो ।
सेन्सेटिभ परिसूचक पनि ६.२७ प्रतिशत अर्थात् १७.९९ अङ्कले घटेर २ सय ६९.०३ अङ्कमा बन्द भएको छ । आज १ सय ४२ कम्पनीको ४७ करोड ६६ लाख ५४ हजार रुपैयाँ बराबरको १ लाख ६१ हजार ८ सय ९० कित्ता शेयर खरिद बिक्री भएको छ ।
बजार खुलेको ३ मिनेटसम्म केही बढेको नेप्से त्यसपछि लगातार घट्दै ११ बजेर २३ मिनेटमा पहिलो सर्किट लागेको थियो । त्यसपछि २० मिनेटका लागि कारोबार बन्द भएको थियो । दोस्रो पटक खुलेको बजारमा ११ बजेर ४७ मिनेट जाँदा फेरि ५ प्रतिशतले नेप्से घटेपछि दोस्रो पटक पुनः सर्किट ब्रेक लागेको थियो । फेरि १२ बजेर २८ मिनेटमा खुलेको बजार १२ बजेर ४० मिनेटमा पुग्दा ६ प्रतिशतले घटेपछि आजका लागि कारोबार बन्द भएको हो ।
बजारमा कारोबारमा आएका समूहमध्ये म्युचल फण्डबाहेकका सबै समूहका सूचकहरु घटेका थिए । बैंकिङ समूह ७.४३ प्रतिशतले घटेको छ । जीवन बीमा ७.६७ प्रतिशत घटेको छ । होटल समूहमा भने सबैभन्दा धेरै ८.६९ प्रतिशतले गिरावट आएको छ । सबैभन्दा धेरै कारोबार नेपाल पुनर्बीमा कम्पनी र नेपाल लाइफ इन्स्योरेन्सको भएको छ । यी दुवै कम्पनीको ६ करोड रुपैयाँभन्दा धेरैको शेयर कारोबार भएको छ ।
बजार घटे पनि स्वाबलम्बन लघुवित्त वित्तीय संस्था लगायतका कम्पनीका शेयरधनीले कमाएका छन् । स्वाबलम्बन लघुवित्तका शेयरधनीले आज ८ प्रतिशतले कमाएका छन् । सोल्टी होटल, प्रभु बैंक, हिमालयन डिस्टिलरी, लाइफ इन्स्योरेन्स कम्पनी, ग्लोबल आइएमई बैंकलगायतका कम्पनीका शेयरधनीले ९ प्रतिशतमाथि गुमाएका छन् । जसमध्ये सोल्टी होटलका शेयरधनीले १० प्रतिशतले गुमाएका छन् ।
