
पूर्णपुष्टि, चैत्र २८ गते ।
सूचनाको हकका लागि राष्ट्रिय संजाल (आरटिआई) उदयपुरले जिल्लाका सवै स्थानीय सरकारलाई ध्यानाकर्षण पत्र बुझाएको छ । कोरोना भाईरस (कोभिड–१९)को संक्रमणबाट बच्नका लागि सम्बन्धित निकायले थालेको उपायहरु बारे नागरिकसम्म सूचना प्रवाह गरी सार्वजनिक गर्नु जरुरी भएको भन्दै आरटिआईले ६ बुद्धे ध्यानाकर्षण पत्र बुझाएको हो ।
वेबसाइट, एप्स, सामाजिक सञ्जाल (फेसबुक पेज) लाई नियमीत रुपमा अपडेट गरि, तथा स्थानिय रेडियोको प्रयोगगरी नागरिकमा सूचनाको पहुच अभिबृद्धि गरि सूचनाको हकलाई प्रत्याभुत गराउन बिशेष ध्यान दिन, स्थापना गरिएको टोल फ्रि नं., सूचनाबोर्ड व्यवस्थापन र थप प्रभावकारी रुपमा कार्यन्वयनका लागि नगरबासीमा प्रचारप्रसार गर्ने, राहत वितरण, खरिद, पाउने व्यक्तिको नामसहितको मापदण्डलाई आम नागरिकलाई जानकारी हुने गरि प्रत्येक वडा तथा यस कार्यालयको वेवसाइट र एप्समार्फत नियमित रुपमा सार्वजनिकीकरण गर्न ध्यानार्कषण पत्र उल्लेख गरिएको छ ।
सरकारले गरेको लकडाउनको पुर्ण पालना, अत्यावश्यक सामाग्रीको व्यवस्थापन र कालो बजारीको अनुगमन तथा कारवाही प्रक्रियाको निगरानी र स्थानीय तहले तयार पारेको क्वरेन्टाईनको मापदण्डलाई समेत कार्यन्वयन गर्न लगायतका बुद्धाहरु ध्यानाकर्षण पत्रमा उल्लेख छ ।
विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाईरसको संक्रमणबाट बच्न र नियन्त्रणका लागि नेपाल सरकार, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, अस्पताल एवं स्वास्थ्य सेवा प्रवाह गर्ने विभिन्न निकायहरु, स्थानीय सरकारले थालेका प्रयासहरु आदि बारे निरन्तर सर्वसाधारणलाई सूसुचित गर्नु आवश्यक भएकाले सवै स्थानीय सरकारको ईमेलमार्फत ध्यानाकर्षण पत्र बुझाएको र टेलिफोन सम्बाद भईरहेको सूचनाको हकका लागि राष्ट्रिय संजाल (आरटिआई) उदयपुरका संयोजक अजयकुमार साहले बताए ।

