पूर्णपुष्टि, पुष २३ । पोखरामा भएको २२औँ संस्करणको आहा रारा पोखरा गोल्डकप फुटबल प्रतियोगिताको उपाधि सङ्कटा फुटबल क्लबले जित हात परेको छ । पोखरा रंगशालामा सम्पन्न फाइनल खेलमा सङ्कटाले भुटनीज युथलाई ३–२ गोल अन्तरले जित निकालेको हो ।
खेलको सुरुवातमै २–० गोलको अग्रता बनाएको सङ्कटाले पहिलो हाफमै उक्त अग्रता जोगाउन सकेन । खेलको ८औँ मिनेटमा सुरज ज्यु ठकुरीले सङ्कटालाई अग्रता दिलाएका थिए । सुरजले निशान खड्काको क्रसलाई भुटनिज युथका गोलकिपर पूजन थापा मगरले बचाए पनि रिबाउन्डमा गोल गरेका हुन् । यस्तै खेलको ३५औँ मिनेटमा मेसुके ओलोमोउले संकटाको अग्रता दोब्बर बनाए । मेसुकेले सुनिल बलको कर्नरलाई गोलमा परिणत गरेका हुन् ।
२–० गोलले पछि परेको खेलमा ३७औँ भुटनिज युथका मिनेटमा रिनी सान्तिलोनले गोल गरेपछि खेल २–१ गोलको स्थितमा आएको थियो । यस्तै इन्जुरी समयमा विल ग्रिफिथले भुटनिज युथलाई २–२ को बराबरीमा ल्याए । उनले धिरज थजालीको फ्रिकिकमा बनेको मुभमा गोल गरेका थिए । प्रतियोगितामा पहिलो हाफको निर्धारित समय सम्म २–२ गोलको बराबरीमा सकिएको थियो ।
दोस्रो हाफमा कुनै टोलीबाट थप गोल नहुँदा अतिरिक्त समयमा धकेलिएको खेलमा ११७ औँ मिनेटमा कप्तान सुनिल बलले गोल गर्दै सङ्कटालाई ३–२ को रोमाञ्चक जित दिलाए । यसअघि सङ्कटाले २०७७ सालमा सो उपाधि जितेको थियो ।
