Monday, June 29News That Matters

उखु किसानले अझै पुरा भुक्तानी पाएन

पूर्णपुष्टि, माघ ६

उखु किसानले अझै पनि पुरा भुक्तानी पाउन सकेन । भुक्तानी पाउने समय सकिसक्दा सम्म पनि किसानहरुले अझै १९ करोड भुक्तानी लिन बाँकी छ ।

सरकार र उखु किसानबीच भएको सहमतिको समय सकिँदा १९ करोड २० लाख रुपैयाँ भुक्तानी हुन बाँकी रहेको पाइएको छ ।

उखु किसानीले भुक्तानीका लागि काठमाण्डौँ माइतीघरमा चर्को आन्दोलन गरेपछि सरकार र किसानबीच भुक्तानी दिने निश्चित समय तोकिएका थिए ।

सम्झौतापत्रमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले चिनी उद्योगीले किसानलार्ई भुक्तानी गर्नुपर्ने बक्यौता रकम सम्बन्धित उद्योगबाट २१ दिनभित्र उपलब्ध गराउने व्यवस्था मिलाउने उल्लेख छ । सहमतिको अवधि सोमबार सकिएको छ ।

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले गृह मन्त्रालयलाई बुझाएको विवरणअनुसार उखु उद्योगीले ७० करोड ५८ लाख रुपैयाँमध्ये ५१ करोड ३८ लाख रुपैयाँ मात्रै भुक्तानी गरेका छन ।

‘सोमबार दिउँसोसम्मको तथ्यांकअनुसार उद्योगीहरूले ५१ करोड ३८ लाख रुपैयाँ वितरण गरेका छन् । त्यो भनेको ७२.७९ प्रतिशत मात्रै हो,’ गृह मन्त्रालयका सूचना अधिकारी प्रेमलाल लामिछानेले भने, ‘अब १९ करोड २० लाख वितरण हुन बाँकी देखियो ।’

चार उद्योगहरुले उखु किसानको भुक्तानी नदिएको भन्दै किसानहरु सडकमा उत्रिएका थिए । हालै चार उद्योगहरु मध्ये अन्नपूर्ण चिनी मिलले जम्मा १७ करोड, श्रीराम सुगर मिलले ४० करोड ४७  लाख, लुम्वीनी सुगर मिल ८ करोड ४१ लाख र इन्दीरा सुगर मिलले ४ करोड भुक्तानी उखु किसानलाई गर्नु पर्ने देखिन्छ ।

त्यस मध्ये अन्नपूर्ण चिनी मिलले ११ करोड ४७ लाख, श्रीराम सुगर मिलले ३५ करोड ७५ लाख, लुम्वीनी सुगर मिलले ४ करोड १६ लाख र इन्दीरा सुगर मिलले ७० लाख मात्रै भुक्तानी गरेको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको तथ्याङकमा उल्लेख गरिएको छ ।