
पूर्णपुुष्टि, बैशाख १२
रुपन्देहीको एक विद्यालयको होस्टलमा एक जना विद्यार्थीको उच्च ज्वरोका कारण मृत्यु भएको छ । करिब ८० जना विद्यार्थीहरु बस्दै आएको उक्त होस्टलमा एक जनाको भने ज्वरोका कारण मृत्यु भएको हो ।
तिलोत्तमा नगरपालिकाको नयाँमिलस्थित प्यारामाउन्ट बोर्डिङ स्कुलको होस्टलमा रहेकी छात्राको उच्च ज्वरोले मृत्यु भएपछि विद्यार्थी र अभिभावकमा कोरोना त्रास छाएको छ । कक्षा १० मा पढ्ने १५ वर्षीया प्रतिमा सापकोटाको शनिबार मृत्यु भएको हो । दुई दिनदेखि रुघाखोकी, ज्वरो र श्वासप्रश्वासको समस्या देखिए पनि विद्यालयले समयमै उपचार नगर्दा घटना भएको अभिभावकको आरोप छ । अन्य विद्यार्थीमा पनि रुघाखोकीको समस्या देखिएको छ ।
घटनापछि धेरै अभिभावकले छोराछोरी घरमै लगेका छन । स्थानीय प्रशासनले विद्यालय बन्द गर्न निर्देशन दिए पनि नगरपालिकाले वैशाख २० गतेभित्र सबै परीक्षा सम्पन्न गर्न निर्देशन दिँदै परीक्षा सञ्चालन गरिरहेको छ ।
विद्यालयका सहप्राचार्य लीलाधर किराँतले होस्टलमा बसेर अध्ययन गरी परीक्षामा सहभागी विद्यार्थीको मृत्यु भएको बताए । ‘हिजोदेखि ज्वरो आएको हो,’ उनले भने, ‘आजै अभिभावकलाई खबर गरेर अस्पताल पठाएका हौं ।’
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष पूर्णप्रसाद सापकोटाले रुघाखोकी देखिएका ४३ विद्यार्थीको शनिबार नै स्वाब संकलन गरेर पठाइएको बताए । ‘मैले हिजोदेखि नै विद्यालय बन्द गर्न निर्देशन गरेको थिएँ,’ उनले भने, ‘तर, आज नै दुःखद घटना भयो, लापरबाही भएको भए छानबिन गर्छौं ।’
