Saturday, June 27News That Matters

उदयपुरको कृषिमा खुसीको खबर : १,८७३ मिटर उचाईको पाखोबारीमा पहिलोपटक चिनो धानको सफल उत्पादन

पूर्णपुष्टि, भदौ २८ ।

उदयपुरमा पाखोबारीमा पनि धान फल्न थालेको छ । जिल्लाको पहाडी भेगमा सफल परिक्षण नै भएको छ । पश्चिम नेपालको कर्णालीको हुम्ला, जुम्ला, कालिकोट, मुगु र रोल्पा जस्ता विकट ठाउँमा रैथाने अन्नवालिको रुपमा खेती गरिने चिनो धान उदयपुरको पहाडी भेगमा पनि सफल परिक्षण भएको नेपाल घरेलु तथा साना उद्योग महासंघ उदयपुरका अध्यक्ष मधुकर थापाले बताउनुभयो ।
परिक्षणको क्रममा यो वर्ष सफल उत्पादन भएको चिनो धान जिल्लाको अन्य विभिन्न पहाडी भेगमा पनि उत्पादन हुनसक्ने देखिएको छ । जिल्लाको रौतामाई गाउँपालिका १ को ठाडोखोलामा उत्पादन परिक्षण गरिएको थियो । स्थानीय कृषक युवराज गलान तामाङ (राजु) र हितमान तामाङले आप्mनै पाखोवारीमा यसको खेती परिक्षण उत्पादन गरेका थिए । जेठ महिनामा रापिएको धान अहिले भदौमा फलेको अध्यक्ष थापाले बताउनुभयो । ठाडाखोला गाउँ १ हजार ८ सय ७३ मिटर उचाईमा पर्दछ ।

कृषकहरुले आफुहरु उत्पादनबाट उत्साहित बनेको बताएका छन् । उनीहरुले फेरी पनि खेती लगाउने बताएका छन् । यसको चामलबाट खिर, रोटी खान अत्यान्तै मिठो मानिन्छ । साथै भात खाने गरिन्छ । सुगर, पे्रसर जस्ता विरामीका लागि अति उपयुक्त खाद्यान्नको रुपमा पनि मानिन्छ । यस धानलाई गाउँघरको भाषामा कोदेधान पनि भन्ने गरिएको छ ।

चिनो धानसंगै कागुनी खेतीको पनि सफल परिक्षण भएको छ । चिनो र कागुनीको सफल उत्पादन गर्न सकिने प्रमाणित भएको उहाँले दावी गर्नुभयो ।

नेपाल घरेलु तथा साना उद्योग महासंघ उदयपुरको तर्फबाट अध्यक्ष मधुकर थापाको प्रयास तथाा पहलमा कृषि अनुसन्धान केन्द्र खुमलटारका बैज्ञानिक कृष्ण घिमिरेको सल्लाह अनुरुप रौतामाईको विभिन्न स्थान लगायत ठाडाखोलामा यसको प्रारम्भिक खेती गरिएको थियो ।

अव, अधिकांश पहाडी भुभाग रहेको उदयपुरमा यसको खेतीतर्फ किसानहरुलाई आकर्षित गर्न सकिने भएको छ । सम्बन्ध्ीत स्थानीय सरकार, कृषि ज्ञान केन्द्र, कृषि अनुसन्धान केन्द्र लगायत सरोकारवाला निकायहरुले यसतर्फ ध्यान दिनसके ग्रामिण भेगमा अन्न तथा अनाजको अभाव नहुने अध्यक्ष थापाले बताउनुभयो ।

सम्बन्धीत तस्विरहरू :