
पूर्णपुष्टि, साउन ६
उदयपुरमा कोरोना संक्रमितको संख्या घट्न थालेको छ । आज (वुधबार) थप दुईजनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । जिल्ला स्वास्थ्य कार्यालय उदयपुरका अनुसार २ जना पुरुषमा संक्रमण पुष्टि भएको हो । योसँगै जिल्लामा संक्रमितको कुल संख्या २ हजार ७ सय ५ जना पुगेको छ ।
स्वास्थ्य कार्यालयका अनुसार आज त्रियुगा र चौदण्डीगढी नगरपालिकाका एक–एक जना पुरुष गरी दुई जनामा संक्रमण पुष्टि भएको छ । त्रियुगा नगरपालिका वडा नं. ४ का ३० वर्षीय पुरुषमा संक्रमण देखिएको छ, भने चौदण्डीगढी नगरपालिका वडा नं. ३ का ३६ वर्षीय पुरुषमा संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालयको तथ्याङकमा उल्लेख छ ।
त्यस्तै, जिल्लामा कोरोनाबाट थप एक जना पुरुषको ज्यान गएको छ । उक्त पुरुषको उमेर र वडा स्वास्थ्य कार्यालयको तथ्याङकमा उल्लेख गरिएको छैन ।
जिल्लामा आज कोरोना जितेर थप २१ जना घर फर्किएसँगै कोरोना मुक्त हुनेको संख्या २ हजार ४ सय ५६ जना पुगेको छ । जसमध्ये १ हजार १ सय ४० पुरुष र १ हजार ३ सय १६ महिला रहेका छन् । अहिलेसम्म जिल्लामा सक्रिय संक्रमितको संख्या १ सय १३ पुरुष र ८५ महिला गरी १ सय ९८ जना रहेका छन् । आज एक संक्रमित पुरुषको ज्यान गएसँगै जिल्ला कोरोनाबाट ज्यान गुमाउनेको संख्या ५१ पुगेको स्वास्थ्य कार्यालयको तथ्याङकले देखाएको छ ।
