Monday, February 17News That Matters

उदयपुरमा खानेपानीको हाहाकारले गाउँ रित्तिदै

उदयपुर, बैशाख २३ गते ।

 

समयमा वर्षात नभएको र अन्य हिसावले पनि पानीको व्यवस्था हुन नसकेपछि उदयपुरको ग्रामीण भेगका बासिन्दाहरुले तिव्र रुपमा गाउँ छोड्न थालेका छन् । रौतामाई गाउँपालिकाको पहाडी ग्रामीण भेगका बासिन्दाहरुले धमाधम गाउँ छाड्न थालेका हुन् ।

पर्याप्त वर्षात नहुदा अन्नबाली लगाउन नपाउने र खानेपानीकोसमेत व्यवस्था हुन नसकेपछि हाहाकार मच्चिएर पानीको श्रोत भएको ठाउँ खोज्दै गाउँ छाड्ने क्रम बढेको स्थानीय चन्द्रबहादुर भुजेलले बताए ।

खानेपानीको समस्या र अन्नबाली उब्जाउ हुन छाडेपछि यहि वर्ष १० घर परिवारले गाउँ छाडेको स्थानियबासीले बताए । प्रसस्त वर्षात नभएकले करिब एक दशक देखि अन्नबाली उब्जाउमा कमि आएपछि शहर बजारबाट बेसाहा बोकेर घरपरिवार चलाउँदै आएको स्थानीय दलबहादुर भुजेलले बताए ।

केही खानेपानी योजनाका धाराहरु गाउँमा भएपनि मुहान सुकेकाले पानी आउदैन । पानीट्याङ्कीमा कमिला खेलिरहेको छ भने धरामा माकुराले जाल हालेको छ ।  सरकार र विभिन्न संघसस्थाहरुको सहयोगमा खानेपानी योजनाको पाईप र धारा गाउँमा विछ्याइए पनि गाउँलेहरु कुवा, खोला नै धाउन बाध्य छन् । २०७२ सालको भुकम्पपछि खानेपानीको मुहान सुख्न थालेको स्थानीयहरु बताउछन् ।

स्थानीय कुमार कार्कीका अनुसार वर्षेनी पानीको समस्या बढ्दै गएर गतसालदेखि खानेपानीको समस्याले हाहाकार फैलिएको छ । धारामा पानी आउन छाडेपछि पहिला बाजे बावुले प्रयोग गरेको कुवा धाएको र कुवा पनि सुकेपछि खोला र कोशी धाउनु पर्ने बाध्यता रहेको कार्कीले बताए ।

खासगरी रौतामाई गाउँपालिकाको वडा नं. ३ लाफागाउँका स्थानीय बासिन्दा सुनकोशीमा निर्भर हुनुपरेको छ भने वडा नं. २ को भुतिया, कमेरे, डुम्रे, रामेडाँडा लगायतका गाउँलेहरु रसूवा खोलामा निर्भर हुन परेको छ । त्यहाँका अधिकांश बासिन्दाको विहानीको समय पानी बोकेरै जान्छ । गाई भैँसीलाई पानी खुवाउन खोला, कोशी नै पु¥याउन पर्ने बाध्यता छ ।

कोशी किनार तिर खेतबारी हुने जति मंसिर लागेपछि उतै अस्थाई रुपमा बसोबास गर्ने गरेका छन् । केही समययता रसुवा खोलादेखि माथि सुनकोशीको किनार आसपास उदयपुर र खोटाङको केहि भुभागमा कम वर्षा हुने गरेको स्थानीयले बताएका छन् ।

खडेरीले गर्दा बन जंगल समेत मर्न थालेको छ । वाह्रैमास बग्ने खोला आसापासका खेतहरुमा चैते धान रोपिन्थ्यो । तर खडेरीले खोलाको पानी सुकेपछि खेतमा मकै सम्म छर्न नपाएको स्थानिय नारद राईले बताए । वर्षात कम पर्नाले गत साल बारीको लगाएका अन्नबाली विउसमेत नर्फकेको राईले बताए । यतिबेला मकैको दुई तीन पात पलाई सक्नु पर्ने तर, बारी खडेरीले सुक्खा भएपछि अहिलेसम्म कमै छर्ने सुरसार छैन । बारी जोत्दा धुलो उड्ने स्थानियले बताए ।