Friday, June 12News That Matters

उदयपुरमा दैनिक सय संक्रमित थपिदै, लापरवाहीका कारण समुदायमा काेराेना फैलियाे

पूर्णपुष्टि, जेठ १२ ।

गएको २४ घण्टामा उदयपुरमा थपिने कोरोना संक्रमितको संख्याले सय नाघेको छ । अहिलेसम्मकै सबैभन्दा बढि संक्रमित थपिने रेकर्ड राख्दै १३८ जना संक्रमित थपिएका हुन् । २८४ जनाको एन्टिजेन परिक्षण गर्दा ४८ जना महिला र ९० जना पुरुष संक्रमित थपिएका हुन् ।

थपिएकामा त्रियुगा नगरपालिकाको ४८, रौतामाई गाउँपालिकाको ३८, कटारी नगरपालिकाको २६, लिम्चुङबुङ गाउँपालिकाको १२, उदयपुरगढी गाउँपालिकाको ८ र बेलका नगरपालिकाको ७ रहेका छन् ।

पछिल्लो समय थपिएको संक्रमितसंगै उदयपुरमा सक्रिय संक्रमितको संख्या ७७९ पुगेको छ । संक्रमितहरु मध्ये ७०७ जना होम आइसोलेशनमा छन् भने ७२ जना संस्थागत आइसोलेशनमा उपचारमा छन् ।

पछिल्लो २४ घण्टामा मृत्यु हुने र निको हुनेको संख्या स्वास्थ्य कार्यालयको अभिलेखमा थपिएको छैन । हालसम्म जिल्लामा निको हुनेको संख्या १५४ र मृत्यु संख्या २९ रहेको छ ।

सक्रिय संक्रमित ७७९, निको १५४ र मत्यु २९ गरी जिल्लामा कुल संक्रमितको संख्या ९६२ पुगेको छ ।

कुनै बेला जिल्लाभरमा १ जना कोरोना संक्रमित भेटिदा भयाबह स्थिति ठानिने उदयपुरमा यतिबेला एउटै वडामा ठूलोसंख्यामा संक्रमित भेटिन थालेको छ । एकैदिनको परिक्षणमा २० जनाभन्दा बढिसम्म संक्रमित भेटिन थालेको हो ।

स्वास्थय कार्यालयबाट प्राप्त रिपोर्ट अनुसार पछिल्लो समय एकैदिनको परिक्षणमा त्रियुगा नगरपालिकाको वडा नं. १६ मा २३ जना, रौतामाई गाउँपालिकाको वडा नं. ६ मा २६ जना संक्रमित भेटिए । त्रियुगा मात्र नभई अन्य पालिकाहरुमा पनि एउटै वडामा धेरै संख्यामा संक्रमित भेटिएका छन् । कटारी नगरपालिकाको वडा नं. १४ र वडा नं. २ मा १२÷१२ जना संक्रमित भेटिए ।  उदयपुरगढी गाउँपालिकाको वडा नं. ७ मा ८ जना संक्रमित भेटिए ।

उदयपुरमा हाल परिक्षणको दायरा बढाएसंगै वडास्तरमा देखिने संख्याो ठूलो आकारले समुदायस्तरमा कोरोना ब्यापाक फैलिदै गएको देखिएको छ । गाउँघरमा विवाह, ब्रतबन्ध, कुल, कार्जे जस्ता कुराले भिडभाड बढेसंगै सावधानी नअपनाउदा कोरोना ब्यापकरुपले फैलिएको पाइएको छ ।

गाउँमा ज्वरो आउने, टाउको दुख्ने विमार बढिरहेको अवस्थामा परिक्षण गरिदा कोरोना पोजेटिभ देखिने गरेको स्वास्थ्यकर्मीहरु बताउछन् ।

उदयपुरका प्रमुख जिल्ला अधिकारी तुलसीराम सेढाईले लापरवाहीका कारण समुदायस्तरमा कोरोना फैलिदो रहेको बताउनु भएको छ ।

पूर्णपुष्टि खबरसंग आज कुरा गर्दै प्रजिअ सेढाईले समुदायस्तरमा स्वास्थ्य मापदण्ड नअपनाउने र बढि लापरवाही गर्ने हुदा कोरोना फैलिरहेको बताउनुभयो । प्रशासनले निशेधाज्ञ जारी गर्दै स्वास्थ्य मापदण्ड अपनाउन अनुरोध गरेपनि पालना नहुदा यस्तो स्थिति आएको उहाँको भनाई छ । सबैभन्दा बढि विवाह, ब्रतबन्ध, देवाली जस्ता कार्यक्रमहरुमा लापरवाही भएको पाइएको उहाँले बताउनुभयो । भौतिक दुरी कायम गर्ने, मास्क लाउने कुरामा वेवास्ता गर्दै भिडभाड गर्नाले कोरोना समुदायमा फैलिएको उहाँले बताउनुभयो ।

कोरोना यतिका धेरै समुदायमा फैलिसक्दा पनि अझै पनि सावधानी अपनाउने कुरामा कमी छ । अझै पनि चेतनाको अभाव देखिएको छ । यसलाई स्थानीय सरकारले वडा, टोलस्तरसम्मको संयन्त्रलाई सक्रिय बनाई लापरवाही रोक्नुपर्ने हुन्छ । जिल्ला विपद ब्यवस्थापन समिति तथा जिल्ला कोभिड संकट ब्यवस्थापन समितिको संयोजक समेत रहनु भएको प्रजिअ सेढाइले अव, जिल्लामा हरेक संयन्त्र सक्रिय भई नियन्त्रणमा नलागे कोरोनाको ठूलौ चुनौती ब्यहोर्नुपर्ने बताउनुभयो । सबैले आ आप्mनो क्षेत्र र ठाउँबाट नियन्त्रणमा लाग्न वहाँले आव्हान गर्नुभएको छ ।

जिल्लामा सबैभन्दा उच्च संक्रमण दर रहेको त्रियुगा नगरपालिकामा पछिल्लो २४ घण्टामा ४८ जना संक्रमित थपिएका छन् । पहिले जिल्लामा थपिने संख्या अव पालिकास्तरमै थपिन थालेको हो । यो संख्या थपिएसंगै त्रियुगामा सक्रिय संक्रमितको संख्या ३७७ पुगेको छ । त्रियुगामा मृत्यु संख्या १९ रहेको छ भने निको हुनेको संख्या ५८ रहेको छ । त्रियुगामा कुल संक्रमण ४५४ जना हो ।

त्रियुगालाई पछ्याउदै गरेको चौदण्डीगढी नगरपालिकामा सक्रिय संक्रमितको संख्या ८६ पुगेको छ । चौदण्डीमा मृत्यु ३ र निको हुनेको संख्या ७ रहेको छ । चौदण्डीमा कुल संक्रमण १३० जना हो ।

संक्रमण दरको तेस्रो स्थानमा रहेको कटारी नगरपालिकामा सक्रिय संक्रमितको संख्या १०१ पुगेको छ । पछिल्लो समय २६ जना संक्रमित थपिएसंगै कटारीमा सक्रिय संक्रमितले सय नाघेको हो । कटारीमा मृत्यु ३ र निको हुनेको संख्या ७ रहेको छ ।  कटारीमा कुल संक्रमण संख्या ११२ जना हो ।

बेलका नगरपालिकामा संक्रमणको दरमा चौथो स्थानमा छ । सो नगरपालिकामा सक्रिय संक्रमित ६७ जना छन् । पछिल्लो समय ७ जना संक्रमित थपिएको हो । बेलकामा मृत्यु १ र निको हुनेको संख्या ३३ रहेको छ । बेलकामा कुल संक्रमित १०१ जना हो ।

जिल्लाको गाउँपालिकाहरु मध्ये संक्रमणको हिसावले अग्रस्थानमा रहेको लिम्चुबुङको रेकर्ड रौतामाईले तोडेको छ । पछिल्लो समय रौतामाईमा ३८ जना संक्रमित थपिदा रेकर्ड तोडेको हो । रौतामाईमा सक्रिय संक्रमित ६२ पुगेको छ । रौतामाईमा मृत्यु छैन भने निको हुनेको संख्या ६ रहको छ । रौतामाईमा कुल संक्रमित ६८ जना हो ।

लिम्चिुङबुङमा सक्रिय संक्रमित ५१ पुगेको छ । पछिल्लो समय १२ जना थपिएको हो । लिम्चुङबुङमा पनि मृत्यु छैन, निको हुनेको संख्या ८ रहेको छ । लिम्चुङबुङमा कुल संक्रमित ५९ जना हो ।

उदयपुरगढी गाउँपालिकामा पछिल्लो समय ८ जना संक्रमित थपिदा सक्रिय संक्रमितको संख्या ३४ पुगेको छ । सो पालिकामा मृत्यु २ र निको हुनेको संख्या १ रहेको छ । उदयपुरगढीमा कुल संक्रमित ३७ जना हो । ताप्ली गाउँपालिकामा भने परिक्षण नै छैन ।

नेपालमा पछिल्लो २४ घण्टामा १४५ जनाको कोरोनाका कारण मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मञ्त्रालयका अनुसार देशको विभिन्न जिल्लामा संक्रमितहरुको मृत्यु भएको हो । यो संगै नेपालमा मृत्यु हुनेको कुल संख्या ६ हजार ८४५ पुगेको छ ।

पछिल्लो २४ घण्टामा भने नेपालमा संक्रमित थपिने भन्दा निको हुनेको संख्या बढि छ । ६ हजार ७१४ जना नयाँ संक्रमित थपिएका छन् । योसंगै नेपालमा सक्रिय संक्रमितको संख्या १ लाख १७ हजार ७७ पुगेको छ । त्यस्तै ७ हजार ६१६ जनाले कोरोनालाई जितेर निको भएका छन् । योसंगै नेपालमा निको हुनेको संख्या ४ लाख ११ हजार ६०३ पुगेको छ । नेपालमा कुल संक्रमितको संख्या ५ लाख ३५ हजार ५२५ जना हो । पछिल्लो चारदिनको रिपोर्ट अनुसार मृत्युदर कम हुदै आएको छ ।

८ हजार ६३६ जना नयाँ संक्रमित थपिएको छ । २२ हजार ९३६ जनाको परिक्षण गरिदा उक्त संख्यामा संक्रमित थपिएको हो । योसंगै नेपालमा संक्रमितको कुल संख्या ५ लाख २८ हजार ८४८ पुगेको छ ।

विश्वमा कोरोनाको कारण मृत्यु हुने मानिसको संख्या ३५ लाख ४६ पुगेको छ । विश्वमा कुल संक्रमितको संख्या १६ करोड ८५ लाख ३५ हजार १३७ पुगेको छ भने निको हुनेको संख्या १५ करोड ७६ हजार ६७८ रहेको छ । विश्वमा सक्रिय संक्रमितको संख्या १ करोड ४९ लाख ५८ हजार ४१५ रहेको छ । पछिल्लो २४ घण्टामा विश्वमा २ लाख १० हजार ३६६ संक्रमित थपिएको हो ।