
पूर्णपुष्टि, साउन ७
उदयपुरमा लकडाउन खुकुलो भएसँगै कोरोना संक्रमितको संख्या पुन: बढ्न थालेको छ । आज (विहिबार) थप २८ जनामा संक्रमण पुष्टि भएको छ । जिल्ला स्वास्थ्य कार्यालय उदयपुरका अनुसार १५ महिला र १३ पुरुष गरी २८ संक्रमित थपिएको हो । योसँगै जिल्लामा संक्रमितको संख्या २ हजार ७ सय ३३ जना पुगेको छ ।
स्वास्थ्य कार्यालयका अनुसार चौदण्डीगढी, बेलका र कटारी नगरपालिकाका साथै रौतामाई र ताप्ली गाउँपालिकामा संक्रमित थपिएको हो । आज सबै भन्दा बढी चौदण्डीगढीमा संक्रमण देखिएको छ । चौदण्डीगढीमा ९ महिला र ६ पुरुष गरी १५ जनामा संक्रमित भएका छन् ।
त्यस्तै, बेलकामा ३ महिला र ३ पुरुष गरी ६ जना, कटारीमा २ पुरुष, रौतामाईमा २ महिला र २ पुरुष गरी ४ जना र ताप्लीमा १ महिलामा संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालयले जनाएको छ ।
जिल्लामा थप एक कोरोना संक्रमितको ज्यान गएको छ । ताप्ली गाउँपालिका वडा नम्बर ५ का ७८ वर्षीय वृद्धको कोरोना संक्रमणबाट ज्यान गएको हो । ताप्लीमा कोरोनाबाट मृत्यु भएको यो नै पहिला घटना रहेको छ । योसँगै जिल्लामा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ५२ पुगेको छ । ७८ वर्षीय वृद्धको कट्हरे आइसोलेसन ताप्लीमा उपचारको क्रममा ज्यान गएको स्वास्थ्य कार्यालयले जनाएको छ ।
आज कोरोना जितेर थप १५ जना घर फर्किएसँगै जिल्लामा कोरोना मुक्त हुनेको संख्या १ हजार १ सय ४६ महिला र १ हजार ३ सय २५ पुरुष गरी कुल २ हजार ४ सय ७१ जना पुगेको स्वास्थ्य कार्यालयको तथ्याङकले देखाएको छ ।
जिल्लामा अहिले सम्म सक्रिय संक्रमितको संख्या ९४ महिला र १ सय १६ पुरुष गरी २ सय १० जना रहेका छन् ।
