Tuesday, June 9News That Matters

उदयपुर- काेराेना खबर अपडेट, १९ जेठ ०७८ : मृत्यु हुने बृद्धबृद्धा भन्दा उमेरदार बढी

अब खबर विस्तृतमा…

१.

उदयपुरमा आज ३८ जना कोरोना संक्रमित थपिएका छन् । १०९ जनाको एन्टिजेन परिक्षण गर्दा २० महिला र १८ पुरुषलाई कोरोना पुष्टि भएको हो । थपिएका संक्रमितहरु त्रियुगाका १९, उदयपुरगढीको ६, ताप्लीको ६, बेलकाको ५, चौदण्डीगढीको १ र रौतामाईको १ जना रहेका छन् ।

योसंगै उदयपुरमा सक्रिय संक्रमितको संख्या १ हजार ४४ पुगेको छ । पालिकास्तरमा सक्रिय संक्रमित संख्या सबैभन्दा बढि त्रियुगामा छ, दोस्रोमा चौदण्डीगढी र तेस्रोमा बेलका रहेको छ ।

त्रियुगामा सक्रिय संक्रमित ५०५, चौदण्डीगढीमा १२०, बेलकामा ११९, कटारीमा ११४ जना रहेका छन् । गाउँपालिकातर्फ सबैभन्दा बढि रौतामाईमा ७९, दोस्रोमा लिम्चुङबुङमा ६०, देस्रोमा उदयपुरगढी ३६ र ताप्लीमा ११ जना रहेका छन् ।

उदयपुरमा आज कोरोनालाई जितेर निको हुनेको संख्या १० थपिएको छ । आज निको हुनेमा चौदण्डीगढीको ५, त्रियुगाको ४ र उदयपुरगढीको १ जना रहेका छन् । योसंगै जिल्लामा निको हुनेको कुल संख्या २४९ पुगेको छ ।

कोरोनाले रौतामाई गाउँपालिकाको वडा नं. ७ का ५१ वर्षिय पुरुषको मृत्यु भएको छ । उनको उपचारको क्रममा विराटनगरस्थित नोवेल मेडिकल हस्पतालमा हिजो मृत्यु भएको हो । केही दिन अघि उनको भाइको पनि सोही अस्पतालमा मृत्यु भएको थियो । उनको परिवारमा कोरोनाका कारण दाजुभाइको मृत्यु भएको हो ।

उता, लिम्चुङबुङमा पनि कोरोना संक्रमित एक ब्यक्तिको आज मृत्यु भएको छ । पालिकाको आइसोलेशनमा उपचाररतसंक्रमित पुरुषको आज एक्कासी मृत्यु भएको हो ।

पालिकका प्रमुख प्रशासकीय अधिकृत टार्जन लिम्बुका अनुसार मृत्यु हुने संक्रमित वडा नं. २ ताम्लिछाका ५५ वर्षिय पुरुष हुन् । गत ११ गते परिक्षण गर्दा उनी पोजेटिभ देखिएका थिए । होम आइसोलेशनमा बस्दै गरेका उनलाई स्वास्थ्य समस्या देखिएपछि पालिकाको आइसोलेशनमा तीनदिन अघि ल्याइएको थियो । विहानसम्म सामान्य अवस्थामै बोलचाल गरिरहेका उनको एक्कासी मृत्यु भएको जनाइएको छ ।

शब ब्यवस्थापनमा नेपाली सेना पुग्न लामो समय लाग्ने भएपछि पालिकाकै पहलमा ब्यवस्थापन गरिने भएको छ । पालिकाका स्वास्थ्यकर्मीटोलीले पिपिइ सेट लगाई शब लैजाने र आफन्तको जिम्मामा दाहसंस्कार गरिने भएको छ । आफन्तलाई पनि स्वास्थ्य सुरक्षाका लागि पिपिइ सेट पालिकाले उपलब्ध गराएको छ ।

योसंगै कोरोनाले मृत्यु हुनेको संख्या जिल्लामा ३७ पुगेका छ ।

उदयपुरमा कोरोनाले मृत्यु हुनेमा ३० देखि ६० वर्ष उमेर समुहका बढी रहेका छन् । उक्त उमेर समुहका २४ जनाको कोरोनाले मृत्यु भएको तथ्यांक स्वास्थ्य कार्यालय उदयपुरको छ । उक्त उमेर समुहका ८ महिला र १६ पुरुषको मृत्यु भएको हो । जिल्लामा आजसम्म कोरोनाले मृत्यु हुनेको कुल संख्या ३६ जना हो । संक्रमणको हिसावले पनि यही उमेर समुहकालाई सबैभन्दा बढि भएको बुझिएको छ ।

उदयपुरको अहिलेसम्मको तथ्यांकले बृद्धबृद्धा भन्दा उमेरदार मानिसको मृत्य संख्या बढि देखाएको छ । ६१ वर्ष भन्दा माथिका उमेर समुहको मृत्यु हुने संख्या १३ रहेको छ । बृद्धबृद्धा समुहमा ३ महिला र १० पुरुष रहेका छन् ।

मृत्यु हुनेमा सबैभन्दा कम उमेरको ३४ वर्षकी एक महिला हुन् । उनी त्रियुगा नगरपालिका ११ की हुन् । भने सबैभन्दा बढि उमेरको मृतक ९० वर्षका छन् । उनी त्रियुगा नगरपालिका १३ का पुरुष हुन् । हालसम्मको अवस्थामा ३३ वर्षमुनी उमेर समुहकालाई कोरोना संक्रमण नभएको हैन, लागेपनि कारोनालाई जितेको अवस्था छ ।

अव देशको कोरोना अपडेट

नेपालमा आज निको हुनेको संख्या अझ थपिएको छ । आज ७ हजार ५५५ जनाले कोरोनालाई जितेका हुन् । योसंख्या अहिलेसम्मकै कोरोना जित्नेको ठूलो संख्या हुन् । योसंगै नेपालमा कुल निको हुनेको संख्या ४ लाख ६१ ह्जार ५६३ पुगेको छ ।

नेपालमा आज ५ हजार ३१६ जना संक्रमित थपिदा कुल संक्रमितको संख्या ५ लाख ७१ हजार १११ पुगेको छ ।

आज १०१ जनाको मृत्यु भएको छ । योसंगै नेपालमा मृत्यु हुनेको कुलसंख्या ७ हजार ५५५ पुगेको छ ।

नेपालमा सक्रिय संक्रमितको संख्या १ लाख १ हजार ९९३ रहेको छ । सक्रिय संक्रमित क्रमश घडिरहेको छ ।

अव विश्व कोरोना अपडेटको पालो

विश्वमा आज संक्रमित थपिने भन्दा निको हुनेको संख्या बढ्दो छ । ४ लाख ८८ हजार ७१४ जना संक्रमित थपिएको छ । यो संगै विश्वमा कुल संक्रमितको संख्या १७ करोड  १९ लाख ६२ हजार ४५६ पुगेको छ ।

निको हुनेको संख्या ६ लाख ९४ हजार ४०९ थपिएको छ । योसंगै विश्वमा निको हुनेको संख्या १५ करोड ४४ लाख ७५ हजार ८५५ पुगेको छ ।

मृत्यु हुनेको संख्या आज ११ हजार ५७३ थपिदा विश्वमा कोरोना संक्रमितको संख्या ३५ लाख ७६ हजार ८४७ पुगेको छ ।

विश्वमा सक्रिय संक्रमितको संख्या १ करोड, ३९ लाख ९ हजार ७५४ रहेको छ । सक्रिय संक्रमितको संख्या हिजो भन्दा आज २ लाख १७ हजार २६८ कमी हो ।

कोरोना विरूद्ध गतिविधि खबरहरु

६० देखि ६४ वर्ष उमेरका बृद्धबृद्धाहरुलाई आउदा जेठ २५ गते कोरोना विरुद्धको खोप लाउने अवसर मिलेको छ ।

नेपाल सरकारले देशैभरका उक्त समुहका बृद्धबृद्धाका लागि खोपको ब्यवस्था मिलाएको जनाएको छ । खोपका लागि नागरिकता वा उमेर खुल्ने आधिकारिक कागज र वडाको सिफारिस आवश्यक पर्ने  जनाइएको छ । चीनबाट प्राप्त भेरोसेल खोप लगाउने भएको हो । दोस्रो डोजको लागि पनि सुनिश्चित गरिएको जनाइएको छ ।

१०

यसैबीच, १८ वर्ष देखिमाथि उमेर समुहका व्यक्तिहरुलाई स्वेच्छिक फारम भरी कोरोनाको खोप लगाउन जिल्ला स्वास्थ्य कार्यालय उदयपुरले आव्हान गरेका छ ।

कोभिड–१९ विरुद्धको खोप लिन इच्छुक १८ देखीमाथिका सबैलाई फारम भरी खोप लगाउन सकिने व्यावस्था मिलाएको जनाइएको छ ।

११

बेलका नगरपालिकामा निर्माण हुने अक्सिजन प्लान्टका लागि हुरेन्डेक उदयपुरमा कार्यरत अधिकारकर्मी रविना चौधरीले १ हजार ५६५ रुपैया सहयोग गरेकी छिन् । उनले बेलकाका मेयर दुर्गा थापालाई सहयोग रकम हस्तान्तरण गरेकी हुन् ।

१२

उदयपुरका ब्यवसायी रमेश रसाईलीले ३० घर संक्रमित विपन्न परिवारलाई खाद्यान्न सामग्री वितरण गरेका छन् । त्रियुगा उद्योग वाणिज्य संघ गाईघाटका प्रथम उपाध्यक्षसमेत रहेका रसाईलीले बेलका नगरपालिका वडा नं. २ का विपन्नलाई आज खाद्यन्न वितरण गरेका हु्न् । उनले जनप्रतिनिधिको रोहबरमा खाद्यन्नका साथै होमआइसोलेसन किटसमेत वितरण गरेका हुन् ।

तपाईसंग पनि कोरोना सम्बन्धी सूचना वा कोरोना विरुद्धको गतिविधिबारे जानकारी छन् भने हामीलाई दिनु नभुल्नु होला ।