उदयपुर, फागुन ५ गते
उपप्रधान तथा रक्षा मन्त्री इश्वर पोखरेलले पार्टीको चुनावी घोषणापत्र र सरकार गठनपछि जारी गरिएका नीति तथा कार्यक्रमअनुरुप शिक्षा, स्वास्थ्य र रोजगारीका क्षेत्रमा सरकारले काम गरिरहेको बताउनुभएको छ ।
आइतवार उदयपुर जिल्लालाई साक्षर जिल्ला घोषणा गर्दै पोखरेलले सो कुरा बताउनुभएको हो ।
नेपाल कम्युनिष्ट पार्टीका सचिवालय सदस्यसमेत रहेका पोखरेलले कानुनको अभावमा सरकारले गरेका उपलब्धिमुलक काम त्यति नदेखिएकाले तीनै तहका सरकारका उपलब्धि देखिने गरी कानुन निर्माणको अन्तिम तयारी भईरहेको बताउनुभयो ।
उहाँले हालसम्म १ सय ३० वटा कानुन बनिसकेको जानकारी दिँदै सकेसम्म फागुनको तेस्रो साता नभएपनि चैत्र भित्र सबै कानुन बनिसक्ने बताउनुभयो । कानुन निर्माण संशोधन वर्तमान सरकारको प्रमुख भएको बताउँदै उपप्रधानमन्त्री पोखरेलले कानुन र संरचना अभावमा राजनैतिक र सम्बैधानिक घोषणाहरु कार्यान्वयन हुन नसकेको स्पष्ट पार्नुभयो ।
उहाँले पाँचबर्ष भित्र सामाजिक सुरक्षाभत्ता मासिक ५ हजार पुर्याउने बताउनुभयो ।
घोषणासँगै उदयपुर जिल्ला देशको ४८ औं र प्रदेश नं १ को १० औं साक्षर जिल्ला घोषित भएको छ । नेपाल सरकार शिक्षा मन्त्रालयले तोकेको १२ वटा मापदण्ड उदयपुरले पुरा गरिसकेकाले जिल्लालाई साक्षर घोषणा गरिएको हो ।
घोषणासँगै उपप्रधानमन्त्री पोखरेलले सदरमुकाम गाईघाटको भगवति मन्दिर परिषरमा रहेको साक्षर स्तम्भकोसमेत अनावरण गरेका थिए ।