उदयपुर, मंसीर २७ गते ।
उदयपुर जिल्लालाई आगामी पुस १३ गते एक भब्य कार्यक्रमकाबीच साक्षर जिल्ला घोषणा गर्ने भएको छ ।
अनौपचारिक जिल्ला शिक्षा समितिको मुख्य आयोजनामा जिल्लालाई साक्षर जिल्ला घोषणा गर्न लागिएको हो ।
समितिका अध्यक्ष एवम् जिल्ला समन्वय समितिका प्रमुख खड्गबहादुर परियारका अनुसार साक्षर अभियान अन्तर्गत जिल्लामा सबै मापदण्ड पुरा गरेर घोषणा गर्न लागिएको हो ।
उक्त दिन गाईघाटको भवगती मन्दीर परिसरमा निर्माण गरिएको साक्षर जिल्ला स्तम्भको उद्घाटनसहित १५ हजार बढिको बृहद र्यालीका साथ साक्षर जिल्ला घोषणा गर्ने कार्यक्रम रहेको अध्यक्ष परियारले बताए ।
बिहिबार साक्षर जिल्ला घोषणा सम्बन्धी भएको समितिको बैंठकले कार्यक्रमको तयारी र ब्यापक प्रचार प्रसारमा लाग्ने निर्णय गरेको छ । प्रचार प्रसार समितिमा सरोकारवाला सबै क्षेत्रका एकहजार बढि सदस्य रहेको जनाईएको छ । बैंठकमा प्रमुख जिल्ला अधिकारीसहितको सुरक्षा प्रमुखहरु, शिक्षा क्षेत्रका सरकारी तथा गैरसरकारी निकाय, पत्रकार महासंघ प्रतिनिधि लगायत सहभागि थिए ।