Tuesday, March 25News That Matters

उद्योग दिवसमा उद्यमीहरुलाई पुरस्कार र सम्मान

उदयपुर, मंसीर ९ गते ।

घरेलु तथा साना उद्योग विकास समिति उदयपुरले तेस्रो उद्यम दिवस भव्यरुपमा मनाउदै उद्यम क्षेत्रमा उदाहरणीय र विशेष योगदान रहेका उद्यमीहरुलाई आईतबार सम्मान गरिएको छ ।

सडकमा फालिएको प्लाष्टिकको डोरी संकलन गरेर विभिन्न सामग्री बनाउने गाईघाटका उद्यमी सूर्यबहादुर राई पुरस्कृत भएका छन् । फोहोरको थुप्रोमा फालिएको प्लाष्टिकको डोरीबाट विभिन्न सामग्री बनाई उत्कृष्ट सिप देखाउनुका साथै स्वच्छ वातावरणका लागि समेत टेवा पुर्याएको भन्ने खबर मिडियामा आएको थियो । सोही खबरको आधारमा राई पाँचसय नगद पुरस्कारसहित प्रमाण–पत्र र खादाले सम्मानित भएका हुन् ।

राईका साथै विभिन्न विद्याका अन्य ११ जना उद्यमी सम्मानीत भएका छन् । सम्मानित हुनेहरुमा कृष्ण वास्तोला, सृजना पौडेल, शोभा पौडेल, सिता दनुवार, दिनेश साह, कृष्ण शर्मा, प्रदिप गिरी, राजन कामी, जानुका कार्की बस्नेत, दुर्गादेवि शाही र तुनाई पंडित रहेका छन् ।

दिवस विशेष समारोह कार्यक्रमकी प्रमुख अतिथि प्रदेश सांसद अम्किा थापाले सम्मानीत उद्यमीहरुलाई खादा ओढाई कदरपत्र प्रदान गरिदन् । कार्यक्रममा पूर्व घरेलु कार्यालय प्रमुखद्वय उजिरबहादुर कार्की र हरिबहादुर श्रेष्ठलाई पनि दोसल्ला ओढाई अभिनन्दन गरिएको थियो ।

कार्यक्रममा घरेलुका प्रमुख सम्भुप्रसाद साहले जिल्लामा कुल उद्योग दर्ता २१ सय ९२ रहेको र सोको कुल पुजी लगानी ७७ करोड, ८७ लाख, ३६ हजार ९ सय २३ रहेको जानकारी दिए । यसबाट करिब आठ हजारले रोजगारी पाएको र वाणिज्यतर्फ थप करिब २ हजार २५ वटा पसलहरु दर्ता रहेको जनाए ।

जिल्ला समन्वय समिति उदयपुरका प्रमुख खड्गबहादुर परियारको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख जिल्ला अधिकारी विष्णुकुमार कार्की, घरेलु तथा साना उद्योग विकास समिति प्रधान कार्यालयका सहकार्यकारी निर्देशक सुरेन्द्र थापा मगर, समन्वय उपप्रमुख गंगा राई लगायतका अतिथिहरुले उद्यम क्षेत्रको बारेमा मन्तव्य राखेका थिए । कार्यक्रमअघि उद्यमी दिवसका नाराबाजीसहित र्यालीले गाईघाटबजार परिक्रममा गरेको थियो भने घरेलुको कार्यलय परिषरमै भएको कार्यक्रममा उद्यमीहरुले विभिन्न उत्पादनका प्रदर्शनीसमेत राखेका थिए ।