
उदयपुर, पुस २८ गते ।
उदयपुर, पुस २७ गते । एतिहासिक स्थलको संरक्षणमा चासो राख्दै नेपाली सेनाले शुक्रबार एक ऐतिहासिक स्थल “चौदण्डीगढी”मा सरसफाईका साथै झण्डोत्तोलन गरेको छ ।
उदयपुरको चौदण्डीगडी नगरपालिका १ अवस्थित ऐतिहासिक स्थल चौदण्डीगढीमा सरसफाई तथा पहिलोपटक झण्डोत्तोलन गरिएको हो ।
सदरमुकाम गाईघाट बोक्सेस्थित सेनाको रणसार्दुल गणका गणपति भैरबबहादुर थापाको नेतृत्वमा गएको सेनाहरुले स्थलको सरसफाई गरेपछि नगरपालिकाका मेयर खगेन्द्र राईले राष्ट्रिय झण्डात्तोलन गर्नुभयो ।
उक्त स्थान ऐतिहासिक महत्वको कारण नगरपालिकाको नाम सोही गढीको नामबाट राखिएको छ भने प्रशस्त पर्यटकीय महत्वको रहेकाले नगरपालिकाले विकास र संरक्षणमा प्राथमिकतामा राखेको चौदण्डीगढी नगरपालिकाका मेयर खगेन्द्र राईले बताउनुभयो ।
नेपालका प्रख्यात विभिन्न गढी मध्येको एक चौदण्डीगढीमा सेनवंशी ४ जना राजाले ४० वर्ष शासन गरेको इतिहास छ । विक्रम सम्बत १७९० मा पहिलो राजा जगत्सेनले तथा अन्तिम राजा कर्णसेनले शासन गरेको र पछि पृथ्वीनारायण साहको एकिकरण अभियानको क्रममा चौदण्डीगढीमा आक्रमण गरी नेपाल राज्यमा गाभेको इतिहास छ ।
उक्त ठाउँमा अहिले दरबार र गढीको भग्नाबसेस मात्र रहेका छन् । ढुंगाको पर्खालले घेरेर बनाइएको गढी आकर्षणको केन्द्र हो । त्यहाँको प्रमुख आकर्षण ढुंगाको गण हो । त्यहाँ पुरातात्विक महत्वका विभिन्न आकृतिका ढुंगा, पुराना इटाहरु रहेका छन् । विगतमा संरक्षणको अभावले त्यहाँका महत्वपूर्ण मुर्ती, सिला लगायतका पुरातात्विक महत्वका बस्तुहरु हराएको स्थानीय बताउछन् ।
राष्ट्रिय एकता दिवसको अवसरसमेत पारेर गरिएको कार्यक्रमबाट स्थानीयहरुमा संरक्षणको चासो बढेको छ । उक्त ठाउँको संरक्षण र विकासका लागि आवश्यक पूर्वाधार निर्माणमा जोड दिनुपर्ने देखिन्छ । खानेपानी, सडकस्तरोन्नती लगायतका पूर्वाधारमा जोड दिनुपर्नेमा स्थानीयको जोड छ ।
रमणीय र स्वच्छ वातावरणका साथ उच्च ठाउँमा रहेको चौदण्डीगढीले पर्यटकको मन सजिलै खिच्ने गरेको छ । परपरसम्मका तराई मधेसका फाँटदेखि हिमाली तथा पहाडी भूभागको दृष्यवलोकन गर्न सकिन्छ ।