
पूर्णपुष्टि, चैत्र १
औषधि व्यवसायिहरुको छाता संस्था नेपाल औषधि व्यवसायि संघको अध्यक्षमा उद्धव दाहाल चयन भएको छ । शनिबार गाइघाटमा सम्पन्न नेपाल औषधि व्यवसायि संघको प्रथम जिल्ला अधिवेशनले दाहालको नेतृत्वमा ९ सदस्य जिल्ला समिति गठन गरेको हो ।
खोटाङ्ग, सोलुखुम्बु, ओखलढुंगा र उदयपुर जिल्लाका व्यवसायिलाईसमेत समेटेर गठन गरिएको समितिको उपाध्यक्षमा शुरेसकुमार साह, महासचिवमा विरेन्द्रकुमार झा, सचिवमा सनम राई, कोषाध्यक्षमा विजयकुमार साह र सहकोषाध्यक्षमा संजिव बस्नेत रहेको निर्वाचन समितिका सदस्य अधिकारकर्मी भरत खड्काले बताउनुभयो । त्यसैगरी सदस्यहरुमा कुमार सार्की, बल्लुकुमार गुप्ता र दिनेश्वर साह रहेका छन् ।
कार्यक्रमको उद्घाटन गर्दै प्रमुख अतिथि प्रमुख जिल्ला अधिकारी तुलसीराम सेढाईले व्यवसायिहरुको हकहित र सामाजिक दायित्वमा कृयाशिलता बढाउन नयाँ समितिलाई आग्रह गर्नुभयो । राज्यका संम्यन्त्रलाई सघाउ पुर्याउँदै जनताको सेवा र जनताको स्वास्थ्य अधिकारलाई सुनिश्चितता दिलाउन औषधि व्यवसायि संघको महत्वपूर्ण भुमिका रहने उहाँले बताउनुभयो । व्यवसायि भित्रको सिण्डिकेट प्रथाको अन्त्य गर्दै राष्ट्रको अभिभार सुखी नेपाली र समृद्ध नेपालको सपना पुरा गर्न आआफ्नो क्षेत्रबाट लागि पर्न आग्रह गर्नुभएको छ ।
औषधि भित्रका विकृती विसंगतिको अन्त्य गरी जनताकको स्वास्थ्य अधिकारलाई स्थापित गराउन व्यवसायि संघको भुमिका रहने प्रहरी प्रमुख एसपी भिमबहादुर दाहालले बताउनुभयो । व्यवसायिको सानातिना कमीकमजोरीका कारण कतिपय अवश्थामा लागुऔषधको कारोवार बढेको, उपभोक्ताको स्वास्थ्यमा खेलवाड भैरहेकाले यसप्रति संम्बेदनशिल हुन आग्रह गर्नुभयो ।
कार्यक्रममा बोल्दै संघका २ नम्बर प्रदेश अध्यक्ष शिवनाथ सिंह, कोसी अञ्चल अध्यक्ष कुमार खतिवडा, मेची अञ्चल अध्यक्ष नरेन्द्र बस्नेत, नेपाल पत्रकार महासंघका अध्यक्ष भरत खड्का, त्रियुगा उद्योग बाणिज्य संघका प्रथम उपाध्यक्ष रमेश रसाईली, अधिकारकर्मी भरत खड्का लगायतले व्यवसायिको हितसँगै उपभोक्ताको हितमा पुग्ने गरी संघलाई अघि बढाउन आग्रह गर्नुभएका छन् ।
राज्यले प्रतिवन्ध गरेका औषधि पूर्णरुपले बन्द गर्न र लाइेसेन्समा उल्लेख भएवमोजिमका कारोवार मात्र गर्न उहाँहरुले आग्रह गरेका छन् ।
औषधि व्यवसायिले औषधि पसल दर्ता प्रकृया झण्झट भएकाले सहजिकरण गरिदिन आग्रह गरेका छन् । सबै क्षेत्रमा सिंहदरवारको अधिकार गाउँ गाउँमा पुगेकाले व्यवसायिको अधिकार पनि गाउँमा ल्याउने गरी औषधि व्यवसाय दर्ता र नविकरण प्रकृयाको अघि बढाउन आग्रह गरेका हुन् ।
