Friday, May 22News That Matters

कञ्चनपुर कारागारको सुरक्षामा सेना

पूर्णपुष्टि, असार १ गते ।

नेपाली सेनार्लइ कञ्चनपुरको कारागार सुरक्षाको जिम्मा दिइएको छ । कोरोनाले प्रहरीको जनशक्ति कम भएकाले कारागार सुरक्षाको जिम्मा सेनालाई दिइएको हो ।

कोरोनाको कारण क्वरेण्टीन तथा अन्य क्षेत्रमा सुरक्षाको लागि प्रहरीको संख्या कम भएपछि स्थानीय प्रशासनले कारागारको सुरक्षा जिम्मा सेनालाई दिएको कारागार कार्यालय कञ्चनपुरले जनाएको छ । यसअघि निर्वाचनको बेलामा समेत कारागार सुरक्षाको जिम्मा सेनालाई दिइएको थियो ।

गत सोमबार जिल्ला प्रशासन कार्यालयमा बसेको सुरक्षा समितिको बैठकले असार १ गतेदेखि कारागार सुरक्षाको जिम्मा सेनालाई दिने निर्णय गरेको थियो । त्यही अनुसार आजदेखि कारागारको सुरक्षाको जिम्मा सेनाले लिएको छ ।

कञ्चनपुरमा सात सय १९ जना प्रहरीको दरबन्दी रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । यस्तै जिल्लामा १ सय ८७ वटा क्वरेण्टीन रहेका छन् । जसमध्ये ५ वटा क्वरेण्टीन बाहेक अन्यमा सुरक्षाको जिम्मा प्रहरीलाई दिइएको छ ।

दिनहुँ क्वरेण्टीनको संख्या बढ्दै गइरहेको र त्यसको सुरक्षामा समस्या देखिएपछि कारागार सुरक्षाको जिम्मा सेनालाई दिएर त्यहाँ रहेको जनशक्तिलाई क्वरेण्टीनमा खटाइएको जिप्रकाले जनाएको छ ।

कञ्चनपुरका बेल्डाँडी, बेलौरी, पुर्नवास र माहाकाली नगरपालिकाको ५ वटा  क्वरेण्टीनको सुरक्षाको लागि यसअघि नै नेपाली सेनाको टोली खटाइएको छ ।  कञ्चनपुर कारागारमा अहिले २ सय ९२ पुरुष र १२ महिला गरी ३ सय ४ जना कैदीबन्दी रहेको जनाईएको छ ।