
पुर्णपुष्टि,फागुन २ । उपत्यकाभित्र मंगलबार बिहानैदेखि सार्वजनिक सवारी साधन चलेका छैनन् । बालाजु बसपार्क आसपासमा हिजो भएको तोडफोड आगजनीको घटना पछि आज सवारी सेवा ठप्प पारेका आन्दोलनकर्तालाई सरकारले वार्तामा बोलाएको हो ।
सरकारले यातायात मजदुरहरूसँग गरेको सहमति पालना नगरेको भन्दै सोमबार यातायात व्यवसायीले आज सार्वजनिक यातायात बन्द आह्वान गरेका हुन् । अचानक भएको सवारी ठप्पका कारण हजारौँ यात्रुहरू अलपत्र परेका छन् ।

सरकारले आन्दोलनरत मजदुर सङ्गठनका नेतालाई वार्ता र संवादमा बोलाएको छ । आन्दोलनरत यातायात मजदुरहरूले उपत्यकामा आह्वान गरेको सार्वजनिक यातायात बन्दले जनजीवन प्रभावित भएको हो ।
यातायात मजदुरहरूले १० बुँदे माग अघि सारेर गत माघ १७ गतेदेखि नै आन्दोलन गर्ने चेतावनी दिँदै आएका थिए। आफ्ना माग पूरा नभए फागुन ३ गतेदेखि देशभरको सार्वजनिक यातायात ठप्प पार्ने चेतावनी उनीहरूको थियो।
