
पूर्णपुष्टि, फागुन १५
काठमाण्डौँबाट नेपाल वायुसेवा निगमको जहाज चढेर दिल्ली पुगेका एक जना यात्रुको साथमा कोरोना भाइरस पोजेटिभ रिपोर्ट फेला परेको छ ।
त्रिभुवन विमानस्थलस्थित निगमका कर्मचारीको लापरबाहीले गर्दा शुक्रबार पोजेटिभ रिपोर्ट आएका यात्रुलाई समेत जहाज चढाएको अनुमान गरिएको छ ।
दिल्ली पुगेको जहाजमा कुल १ सय ४१ यात्रु रहेको विमानस्थल स्रोतले जनाएको छ । कोभिड–१९ पोजेटिभ रिपोर्ट बोक्ने यात्रु महिला हुन् । उनको साथ र आसपास बस्ने ११ जना यात्रुलाई आइसोलेसनमा पठाइएको जनाईएको छ ।
कोभिड–१९ पोजेटिभ रिपोर्ट भएका यात्रुलाई जहाज चढाउन पाइँदैन । नेपाल आउने र बाहिरिने सबै यात्रुको साथमा ७२ घन्टा भित्रको पिसिआर नेगेटिभ रिपोर्ट हुनुपर्छ ।
आधिकारिक पत्र आइसकेको नेपाल एयरलाइन्सले जनाएको छ । नेपाल एयरलाइन्सका कर्मचारीको लापरबाहीका कारण यसअघि पनि पटकपटक कम्पनीले कारबाही भोग्नु परेको छ ।
