Wednesday, July 1News That Matters

कुखुराको मासुको ४३० रुपैयाँ केजी पुग्यो

वैशाख ६

काठमाडौं उपत्यकामा तयारी ब्रोइलर कुखुराको मासु प्रतिकिलो ४ सय ३० रुपैयाँ पुगेको छ ।

आइतबार बेलुकीबाट लागू भएको जिउँदो ब्रोइलर कुखुराको कोल्ड स्टोर मूल्य किलोमा १० रुपैयाँँले बढ्दा मासुको भाउ बढेको राष्ट्रिय कुखुरा बिक्री व्यवसायी संघले जनाएको छ । संघको आइतबार बसेको बैठकले जिउँदो ब्रोइलर कुखुराको कोल्ड स्टोर मूल्य प्रतिकिलो ३ सय १० रुपैयाँ तोकेको थियो ।

यो अहिलेसम्मकै महंगो मुल्य हो । बजारमा मागको तुलनामा ब्रोइलर कुखुराको उत्पादन कम भएपछि जिउँदो कुखुराको मूल्य बढेको संघले जनाएको छ । जिउँदो कुखुराको भाउ बढ्नुको असर तयारी मासुमा पनि परेको संघले जनाएको छ ।

तयारी मासुको कोल्ड स्टोर थोक मूल्य बढेसँगै खुद्रामा मासुको भाउ प्रतिकिलोमा ४ सय ५० रुपैयाँसम्म पुगेको हुनसक्ने संघले जनाएको छ । यस अघिको लकडाउनका कारण मझौला तथा साना कुखुरा पालक किसान व्यवसायबाट विस्थापित हुँदा कुखुराको उत्पादन घटेको कुखुरापालक व्यवसायीहरु बताउँछन् ।

यस अघि देशभर दैनिक झण्डै १० लाख किलो कुखुराको मासु उत्पादन एवं खपत हुँदै आएपनि अहिले उत्पादनमा ४० प्रतिशतसम्मले ह्रास आएको संघको दाबी छ । देशभरमा सबैभन्दा धेरै कुखुराको मासु खपत हुने सहर काठमाडौंलाई दैनिक साढे दुई लाख किलो तयारी मासुको आवश्यकता पर्दछ ।