
पूर्णपुष्टि, जेठ ११ गते ।
कुवेतमा थप तीन महिना अस्थायी आवासीय भिसाको म्याद बढाउन सकिने भएको छ । मे ३१ तारिखसम्म अस्थायी आवासीय भिसाको म्याद भएका नेपालीसहित विदेशी नागरिकले आफ्नो स्पोन्सरमार्फत तीन कुवेती दिनार शुल्क तिरेर भिसाको म्याद थप गर्न सकिने जनाईएको छ ।
यस भन्दा पहिले कुवेत भित्र रहेका र फेब्रअरी २९ सम्म आवासीय भिसा सकिएकाहरुको मे ३१ अर्थात तीन महिनाको लागि भिसाको म्याद स्वतः थप हुने निर्णय भएको थियो । मे ३१ मा यो समय सकिने भएकाले अब ३ कुवेती दिनार शुल्क तिरेर भिसाको म्याद थप्न सकिने भएको हो ।
कुवेतमा रहेको नेपाली दूतावासका अनुसार म्याद थप गर्नको लागि आफ्नो स्पोन्सर (रोजगारदाता) सँग सम्पर्क गर्ने र https://eres.moi.gov.kw/individual/ar/auth/login यस वेबसाइटमा गइ रजिष्टर नगरेका स्पोन्सरले रजिष्टर गर्नुपर्ने हुन्छ । पहिले रजिष्टर भइसकेका स्पोन्सरले लगइन मात्र गरे पुग्छ ।
रजिष्टर अथवा लगइन गरिसकेपछि स्पोन्सरले आफ्नो नाम र फोन नम्बर भरेर ग्यारेन्टी नोटमा क्लिक गर्नुपर्ने छ त्यसपछि रिन्युअलमा क्लिक गर्नुपर्ने दूतावासले जनाएको छ ।
यस्तै कुवेतको नीजि क्षेत्रमा कार्यरत कामदारहरुलाई कुवेत सरकारले राहतको व्यवस्था गर्ने भएको छ । राहत पाउनको लागी https://mosa.paci.gov.kw/Client/Home/ApplyRequests वेबसाइटमा गइ सिभिल आईडी नम्बर, सिभिल आईडीको पछाडि रहेको सिरियल नम्बर र मोबाइल नम्बर सहित आवेदन दिन सकिने छ ।
पारिवारिक भिसामा रहेकाले भने राहतको लागि https://centralaid.mosal.gov.kw मा गइ आवेदन दिन सकिने दूतावासले जनाएको छ ।
