Tuesday, June 30News That Matters

कोरोनाबाट मृत्यु भए ३ लाख राहत

पूर्णपुष्टि, असार १०

हेटौँडा उपमहानगरपालिकाको सातौँ नगर सभाले आगामी आर्थिक वर्ष २०७७ ०७८ को लागि २ अर्ब ८ करोड ६६ लाख ३३ हजार रुपैयाँको बजेट ल्याएको छ । यो बजेट चालु आर्थिक वर्षको भन्दा केही घटेर आएको हो ।

लकडाउनको कारण उपमहानगरपालिकाको आन्तरिक आयमा कमी आएको छ । आज प्रस्तुत गरिएको नीति तथा कार्यक्रम कार्यान्वयनमा जोड दिने जनाईएको छ ।

बजेटमा पूर्वाधार विकासतर्फ ९७ करोड ९८ लाख ३९ हजार, आर्थिक विकासतर्फ ६ करोड ५३ लाख, सामाजिक विकासतर्फ ७२ करोड ७४ लाख ७९ हजार, वातावरण तथा विपद व्यवस्थापनतर्फ चार करोड ७१ लाख १९ हजार र संस्थागत विकास तथा सेवा प्रवाह र सुशासनतर्फ तीन करोड ५४ लाख रुपैयाँ विनियोजन गरिएको छ ।

उपमहानगरले आन्तरिक स्रोतबाट २० करोड १४ लाख ७९ हजार, राजस्व बाँडफाँडबाट ५५ करोड तीन लाख ४४ हजार, प्रदेश सरकारको अनुदानबाट आठ करोड ३५ लाख ९८ हजार तथा सङ्घीय सरकारको अनुदानबाट ९८ करोड ९९ लाख र असार मसान्तसम्म खर्च नभइ बचत भएको २६ करोड १३ लाख ११ हजार रुपैयाँबाट खर्च व्यहोर्ने लक्ष्य राखेको छ ।

विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड १९) बाट मृत्यु भएको अवस्थामा मृतकको परिवारलाई हेटौँडा उपमहानगरपालिकाले राहत स्वरुप ३ लाख रुपैयाँ राहत दिने भएको छ । उपमहानगरपालिकाको नीति तथा कार्यक्रम र बजेट प्रस्तुत गर्दै उपमेयर मिना लामाले कोरोना पीडित परिवारलाई यो रकम राहत हुने गरी बजेट ल्याएको बताए ।