Sunday, August 9News That Matters

कोरोनाबाट मोरङमा थप ६ जनाको ज्यान गयो

पूर्णपुष्टि, वैशाख ३०

मोरङका विभिन्न अस्पतालमा उपचाररत कोरोना संक्रमित थप ६ जनाको आज बिहान ज्यान गएको छ । विराटनगरको नोबेल शिक्षण अस्पतालमा ३, कोसी अस्पताल कोभिड–१९ उपचार केन्द्रमा २ र मोरङको बूढीगंगास्थित विराट शिक्षण अस्पतालमा १ जनाको ज्यान गएको हो । मृत्यु हुनेमा विराटनगरका २ जना तथा ललितपुर, सप्तरी, सुुनसरी र मोरङको उर्लाबारीका १÷१ जना रहेकाछन् ।

नोबेल शिक्षण अस्पतालमा मोरङको उर्लाबारी नगरपालिका–२ का ४६ वर्षीय पुरुषको बिहानको राति १ बजेतिर ज्यान गएको छ । अस्पतालकाअनुसार कोरोना परीक्षण रिपोर्ट पोजिटिभ आएपछि उनलाई उपचारका लागि वैशाख २८ गते अस्पताल भर्ना गरिएको थियो ।

त्यसैगरी सुनसरीको इनरुवा नगरपालिकाकी १८ वर्षीया युवतीको बिहान ४ ः ४० बजेतिर नोबेलमै ज्यान गएको छ । कोरोना पुष्टि भएपछि उनलाई उपचारका लागि २८ गते नै भर्ना गरिएको जानकारी अस्पतालले दिएको छ ।

सप्तरीको कन्चनपुर–८ का ७० वर्षीय वृद्ध पुरुषको पनि नोबेलमै ज्यान गएको छ । कोरोना पुष्टि भएपछि गत वैशाख १२ गते उपचारका लागि भर्ना गरिएका वृद्धको बिहान ५ बजेतिर ज्यान गएको अस्पतालले जनाएको छ ।

विराटनगर महानगरपालिका–४ का ६० वर्षीय पुरुषको कोसी अस्पताल कोभिड–१९ उपचार केन्द्रमा ज्यान गएको छ । केन्द्रका सूचना अधिकारीकाअनुसार कोरोना पुष्टि भएपछि उनलाई उपचारका लागि वैशाख २४ गते अस्पताल भर्ना गरिएको थियो । उपचारकै क्रममा संक्रमित वृद्ध पुरुषको बिहानको राति १ बजेतिर ज्यान गएको हो ।

केन्द्रकाअनुसार ललितपुर महानगरपालिका घर भएका ५८ वर्षीय पुरुषको पनि कोसीमै ज्यान गएको छ । वैशाख २६ गते पीसीआर परीक्षण गराउँदा उनलाई संक्रमण पुष्टि भएको थियो । उपचारका लागि त्यही दिन अस्पताल भर्ना गरिएका पुरुषको बिहान ४ ः ३० बजेतिर ज्यान गएको हो ।

त्यस्तै विराटनगर–१ का ३० वर्षीय युवाको बिहानका राति १२ : ३० बजेतिर ज्यान गएको छ । उनको विराट शिक्षण अस्पतालमा ज्यान गएको हो । अस्पतालकाअनुसार कोरोना पुष्टि भएका युवालाई उपचारका लागि वैशाख २५ गते अस्पताल भर्ना गरिएको थियो । उपचारकै क्रममा युवाको ज्यान गएको अस्पतालले जनाएको छ ।