Friday, May 22News That Matters

कोरोना संक्रमण बढेपछि निषेधाज्ञा थप्ने क्रम बढ्यो

पूर्णपुष्टि, भदौ १

कोरोना संक्रमण बढ्दै गएपछि जिल्ला र पालिकाहरुले निषेधाज्ञा जारी गर्ने र यसअघि जारी गरिएका क्षेत्रमा निषेधाज्ञा थप गर्न थालिएको छ ।

अहिलेसम्म ४१ जिल्लामा आंशिक तथा पूर्ण लकडाउन गरिएको छ । २८ जिल्लामा स्थानीय प्रशासनले सङ्क्रामक रोग नियन्त्रण ऐन अनुसार निषेधाज्ञा जारी गरेको गृह मन्त्रालयले जनाएको छ ।

रेडजोनमा भए पनि काठमाण्डौ उपत्यकामा भने निषेधाज्ञा जारी गरिएको छैन । तर, विभिन्न सेवा बन्द गरिएका छन् । भक्तपुरको मध्यपुर थिमिमा लकडाउन र काठमाण्डौको कागेश्वरी मनोहरा नगरपालिकाले अत्यावश्यक बाहेकका सेवा तथा व्यवसाय बन्द गरेको छ ।

सरकारले दुई सयभन्दा धेरै सङ्क्रमित भएको जिल्लालाई रेडजोनमा राखेको छ । काठमाण्डौ, मोरङ, पर्सा, बारा, रौतहट, सर्लाही, महोत्तरी, धनुषा र बाँके रेडजोनमा छन् ।

पर्सामा सुरक्षाकर्मी परिचालन हुने गरी भदौ १३ गतेसम्म निषेधाज्ञा जारी भएको छ । त्यस्तै चितवनको माडीबाहेक अरु पालिकामा निषेधाज्ञा लागू गरिएको छ । सुनसरीमा पनि एक हप्ताका लागि निषेधित क्षेत्र घोषणा गरिएको छ ।

गोरखामा एक हप्ता, सुर्खेतको वीरेन्द्रनगरमा ४ दिनसम्म र मुगुको गमगढीमा भदौ १५ गतेसम्म निषेधाज्ञा लागू गरिएको छ । त्यस्तै मकवानपुरमा जारी निषेधाज्ञा भदौ ९ गतेसम्मका लागि थप गरिएको छ । जारी निषेधाज्ञा थप गर्ने निर्णय गरेको जिल्ला प्रशासन कार्यालय मकवानपुरले जनाएको छ ।