
पूर्णपुष्टि, कात्तिक ३
कोरोना सङ्क्रमितहरूले आफैले उपचार र खाना खर्च बेहोर्न काठमाण्डौको सिभिल अस्पतालले कोरोना पीडितका नाममा सूचना जारी गरेको छ ।
अस्पतालले जारी गरेको सूचनामा भनिएको छ । ‘नेपाल सरकार स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको निर्णयअनुसार यस अस्पतालमा कोराना सङ्क्रमण भइ उपचाररत बिरामीहरुले कात्तिक २ गतेदेखि लागू हुने गरी सम्पूर्ण खर्च बिरामी स्वयंले बेहोर्नुपर्ने जानकारी गराइन्छ ।’
त्यस्तै अस्पतालले कोरोना उपचारका लागि आएका सङ्क्रमितहरुलाई खानाका लागि समेत अस्पतालको क्यान्टिनमा नगद धरौटी राख्न लगाएको छ ।
आइतबार स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा प्रवक्ता डा. जागेश्वर गौतमले अब सरकारले कोरोना सङ्क्रमितको परीक्षण तथा उपचार खर्च नबेहोेर्ने बताएपछि सिभिल अस्पतालले त्यो निर्णयको कार्यान्वयन गरेको हो ।

