Monday, June 29News That Matters

कोरोनो उपचारमा खटेका ५ जना स्वास्थ्यकर्मी संक्रमित

पूर्णपुष्टि, असार ५ गते । 

कोरोना संक्रमितको उपचारमा खटेका पर्वत अस्पतालका पाँच जना स्वास्थ्यकर्मी संक्रमित भएका छन् । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाण्डौमा गरिएको परीक्षणमा स्वास्थ्यकर्मीमा संक्रमण पुष्टि भएको हो ।

संक्रमण पुष्टि भएपछि अस्पतालले विज्ञप्ति जारी गर्दै आजदेखि आकस्मिक बाहेकका सबै सेवा बन्द गरेको छ । अस्थायी कोरोना अस्पतालमा संक्रमितको उपचारमा संलग्न डाक्टरसहितका स्वास्थ्यकर्मीमा संक्रमण देखिएको जिल्ला अस्पताल पर्वतले जनाएको छ ।

गत जेठ २० गते पहिलो पटक पर्वतमा संक्रमण पुष्टि भएपछि कोरोना अस्थायी अस्पतालमा एक हप्तासम्म खटिएका स्वास्थ्यकर्मीमा संक्रमण देखिएको हो । कोरोना अस्पतालमा कार्यरत सात जनाको नमुना परीक्षण गरिएकोमा पाँच जनामा संक्रमण पुष्टि भएको हो । कोरोना अस्पतालमा एक हप्ता बिताए पनि उनीहरु अहिले क्वरेण्टीनमा नै छन् ।

स्वास्थ्यकर्मीलाई समेत संक्रमण देखिएपछि जिल्ला स्तरीय कोरोना रोकथाम तथा व्यवस्थापन समितिको बैठक बसेर आवश्यक निर्णय गर्ने जनाएको छ ।