
उदयपुर, भदौ ११ गते ।
उदयपुरगढी र रौतामाई गाउँपालिकामा बाढी पहिरोबाट भएको क्षतीको प्रदेश योजना आयोगका अनुगमन टोलीले स्थलगत अनुगमन गरेको छ । उदयपुरगढीको तीनटाट्ने पहिरो र रौतामाईको छौड्याहा खोला बाढीले गरेका क्षतीको टोलीले मंगलबार स्थलगत अनुगमन गरेको हो ।

प्रदेश आयोजना आयोगका सदस्य डा.पूर्णकुमार लोक्सोम, मिना भण्डारी र शाखाअधिकृतहरु प्रेमचन्द्र राई र संगिता थुलुङ राईको टोलीले बाढी पहिरोबाट क्षती भएको ठाउँहरुको प्रत्यक्ष स्थलगत अनुगमन गरेको थियो ।
रौतामाई गाउँपालिका – ८ मुर्कुचीको छौड्या खोलाले गरेको क्षतीको विस्तृत जानकारी गराउँनुका साथै प्रदेश सरकारबाट सहयोगको माग गर्दै मुकुर्ची बजार संरक्षण समितिको अध्यक्ष विरेन्द्र मगरले प्रतिवेदन बुझाएको थियो ।

स्थलगत अवलोकन गरिसकेपछि प्रतिवेदन बुझ्दै प्रदेश आयोजनको टोलीले खोला नियन्त्रण बाँध र आवश्यक सहयोगको प्रदेश सरकारसँग पहल गर्ने जनाएको छ । बाढीले धनजनको क्षती गरेकाले अवको दिनमा यस्तो घटना घट्न नदिनको लागि विशेष पहल गर्ने प्रतिवद्धता समेत जनाएको छ ।

बाढीले ठूलै धनजनको क्षती गरेकाले खोला नियन्त्रण गर्नका लागि प्रदेश सरकारबाट सहयोगको माग गरेको अध्यक्ष मगरले बताए । खोला नियन्त्रण गर्न नसके मुर्कुची बजार समेत खतरामा पर्ने भएकाले समयमै खोला नियन्त्रण गर्नका लागि प्रदेश आयोजना आयोगको टोलीलाई प्रतिवेदन बुझाएको अध्यक्ष मगरले बताए ।

त्यस्तै उदयपुरगढी गाउँपालिका – ६ तीन टाट्नेमा गत २८ गते अविरल वर्षापछि आएको पहिरोले ४ घर विस्थापित भएको र उक्त पहिरोले बैद्यनाथ खोला थुनिएर डुवान भएको गाउँ बस्तिको आयोगका टोलीले प्रत्यक्ष स्थलगत अनुगमन गरेको थियो । त्यस्तै पर्यटकिय ऐतिहासिक स्थल उदयपुरगढी र पञ्चावती मन्दिरको पनि स्थलगत अनुगमन गरेको पालिकाले जनाएको छ ।

बाढी पहिरोले गरेको क्षती, उदयपुरगढीमा खानेपानीको समस्या, पर्यटकिय स्थलको संरक्षण र प्रवद्र्धनको बृस्तृत जानकारी गराउँनुका साथै प्रदेश सरकारसँग सहयोगको माग गर्दै गाउँपालिका अध्यक्ष मानबादुर मगरले प्रतिवेदन बुझाएको पालिकाले जनाएको छ ।

बाढी पहिरोबाट पालिकामा ७ घर विस्थापित भएकाहरुको उचित ठाउँमा व्यावस्थापन गर्न र नेपाल सरकारले घुम्नै पर्ने सयवटा गन्तब्य मध्ये जिल्लाकोे ऐतिहासिक स्थल उदयपुरगढी परेकाले यसको विकासको लागि प्रदेश सरकारसँग सहयोगको माग गरेको अध्यक्ष मगरले बताए । त्यस्तै उदयपुरगढीमा खानेपानीको समस्या भएकाले खानेपानीको समस्या समाधान गर्नका लागि प्रदेश सरकारसँग माग गर्दै टोलीलाई प्रतिवेदन बुझाएको अध्यक्ष मगरले बताए ।

पहिरोबाट विस्थापित भएका घरपरिवारलाई व्यावस्थापन गर्न, गढीमा खानेपानी समस्याको समाधान गर्न र ऐतिहासिक उदयपुरगढी तथा पर्यटकिय स्थलको संरक्षण तथा प्रवद्र्धन गर्नका लागि प्रदेश सरकार समक्ष विशेष पहिल गर्नेे प्रदेश आयोजना आयोगका सदस्य लप्सनले बताए ।

पानी जिव जन्तुको लागि अतिआवश्यक वस्तु भएकाले खानेपानी समस्याको समाधान गर्नु पर्छ । विकासका लागि विशेष पानी नै चाहिने भएकाले यसको समधानको लागि पहल गरिने टोलीले जनाएको छ । त्यस्तै उदयपुरगढी विकासको लागि पनि प्रदेशमा पहल गर्ने जानकारी गराएको छ ।
आफुहरुले स्थलगत अनुगमन गरेकाले विस्थापित घरपरिवारलाई सुरक्षित स्थानमा व्यावस्थापन गर्न, खानेपानीको समस्या समाधान गर्न, बाढीले गरेको क्षतीको खोला नियन्त्रण गर्न, उदयपुरगढीको विकासको लागि प्रदेश सरकार समक्ष विशेष पहल गर्ने टोलीले प्रतिबद्धता जनाएको छ ।
