Saturday, June 13News That Matters

खोटाङमा जिप दुर्घटना हुँदा ३ जनाको मृत्यु

पूर्णपुष्टि,कार्तिक ११

खोटाङमा जिप दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ । बराहापोखरी गाउँपालिका–५ सोह्रखानीमा हिजो साँझ ७ बजेतिर भएको जिप दुर्घटनामा उदयपुर चौदण्डीगढी नगरपालिका–८ की २० वर्षीया बृहस्पति राई, बराहापोखरी–६ का ४० वर्षीय विशु राई र बराहापोखरी गाउँपालिका–६ कै ४५ वर्षीय दक्षुमान राईको घटनास्थलमै मृत्यु भएको हो ।

उदयपुर र खोटाङको सिमानामा पर्ने बङ्सिलाघाटबाट चिसापानी आउँदै गरेको को १ ज ३४७० नम्बरको जीप दुर्घटना हुँदा ३ जनाको घटनास्थलमै मृत्यु भएको र ४ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय खोटाङकाले जनाएको छ ।

सोही दुर्घटनामा बृहस्पतिकै २८ वर्षीय श्रीमान छत्रबहादुर राई, उनकै ९ महिने बच्चा दिप्सन राई, बराहापोखरी–६ का ३२ वर्षीया नविना राई र चौदण्डीगढी नगरपालिका–८ का ३० वर्षीय दीपक परियार घाइते भएका हुन् ।

दुर्घटनामा घाईते भएकालाई उपचारका लागि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा आज पु¥याइएको जिल्ला प्रहरी कार्यालय खोटाङकाले जनाएको छ । मृतकको शव पोष्टमार्टमका लागि उदयपुर पठाउने तयारी भइरहेको प्रहरीले जनाएको छ ।