
केदार मगर/खोटाङ, मंसिर २३ गते ।
प्रतिनिधिसभा सदस्यमा नेकपा एमालेका विशाल भट्टराई विजयी हुनुभएको छ । वाम गठबन्धनका साझा उम्मेदवार भट्टराईले लोकतान्त्रिक गठबन्धनका तर्फबाट उम्मेदवार बन्नुभएका नेपाली काँग्रेसका सरस्वति बजिमयलाई १३ हजार ७६५ मत अन्तरले पछी पार्दै भट्टराई विजयी हुनुभएको हो ।
भट्टराईले ३५ हजार ३७७ मत ल्याउनुभएको छ भने, बजिमयले २१ हजार ६१२ मत ल्याउनुभएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । कूल एक लाख २५ हजार मतदाता रहेको जिल्लामा गत मंसिर १० गते भएको पहिलो चरणको निर्वाचनमा ७१ हजार १९१ मत खसेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।
२०७० सालमा भएको संविधानसभाको दोस्रो निर्वाचनमा खोटाङ क्षेत्र नम्बर २ बाट निर्वाचित सांसद समेत रहनुभएका भट्टराई एमाले वैकल्पिक केन्द्रीय सदस्य हुनुहुन्छ । खोटेहाङ गाउँपालिका–७ खोटाङबजारमा २०२५ साल चैत्र २२ गते जन्मनुभएका भट्टराईले २०३८ सालमा अनेरास्ववियु पाँचौंबाट राजनीति सुरु गर्नुभएको थियो ।
२०३९ सालमा सोही विद्यालयमा स्ववियू सदस्य निर्वाचित हुनुभएका भट्टराईले काठमाडौंको रत्नराज्य क्याम्पसबाट स्नातकसम्मको अध्ययन पूरा गर्नुभएको छ । जिल्लाका प्रभावसाली नेता मानिनुहुने भट्टराई सालिन स्वभावका हुनुहुन्छ ।