Friday, May 22News That Matters

खोपको प्रयोग हुनु अघि नै कोरोनाबाट करिब २० लाख मानिसको मृत्यु हुन सक्ने : डब्लूएचओ

पूर्णपुष्टि, असोज १०

कोरोना भाईरस विरुद्धको खोपको व्यापक रुपमा प्रयोग हुनु अघि नै कोरोना सङ्क्रमणबाट करिब २० लाख मानिसको मृत्यु हुन सक्ने विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)ले चेतावनी दिएको छ ।

अन्तर्राष्ट्रिय एकता बिना कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको संख्या सोचेभन्दा धेरै हुने डब्लूएचओका आपतकाल विभाग प्रमुख माइक राइनले बताउनुभयो ।

कोरोना सङ्क्रमणका कारण अहिलेसम्म झण्डै १० लाख मानिसको मृत्यु भईसकेको छ । उत्तरी गोलार्धमा जाडो महिना सुरु हुन थालेसँगै कोरोना भाइरसको दोस्रो लहर सुरु हुन थालेको अन्तराष्ट्रिय संचारमाध्यमहरुले जनाएको छ ।

अहिलेसम्म अमेरिका, भारत र ब्राजिल गरी तीन देशमा मात्रै एक करोड ७८ लाखमा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ ।

अमेरिकामा ७२ लाख ३३ हजारमा कोरोना पुष्टि हुँदा २ लाख ८ हजारको मृत्यु भएको छ । त्यस्तै भारतमा ५९ लाखमा कोरोना पुष्टि हुदा ९३ हजारको मृत्यु भएको छ । ब्राजिलमा ४६ लाख ८९ हजारमा कोरोना पुष्टि भएको छ भने १ लाख ४० हजारको मृत्यु भएको छ ।

अहिले विश्वमा ३ करोड २७ लाखमा कोरोना पुष्टि भएको छ । जसमध्ये २ करोड ४१ लाख निको भएका छन् भने ९ लाख ९२ हजारको मृत्यु भएको छ ।